बागमती प्रदेशका मुख्यमन्त्री लामाले गरे बालविवाहमुक्त नेपालका लागि प्रतिबद्धता

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बालविवाहमुक्त नेपालका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । बालविवाहमुक्त नेपालका लागि ‘जस्ट राइटस् फर चिल्ड्रेन इन नेपाल’ का प्रतिनिधि तथा बालबालिकामाझ उनले प्रतिज्ञापत्रमा हस्ताक्षर गरेका हुन् ।
आफू र आफ्नो सरकार बालविवाहमुक्त अभियानमा प्रतिबद्ध रहेको जनाउँदै मुख्यमन्त्री लामाले यसअघि नै बागमती सरकारले बालविवाहमुक्त गर्न नीति र कानुनहरु बनाइसकेको पनि बताए । ‘हामीले यसअघि नै कानुनहरु बनाइसकेका छौं । स्थानीय तहमा पनि नीति र कानुनहरु बनाउँदै छौं,’ उनले भने, ‘कानुनी र संवैधानिक रूपमै हामी बालविवाहमुक्त प्रदेशका लागि प्रतिबद्ध छौं ।’
हस्ताक्षर समारोहमा सामाजिक अभियन्ताहरु बालकृष्ण पाण्डे, डा।गंगाधर अधिकारी, देवकी रेग्मीलगायत सहभागी थिए । सन् २०३० सम्म बालविवाहमुक्त नेपाल घोषणा गरिसक्न गत पुस १६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेर अभियान सुरु गरेका थिए । त्यसपछि संघीय महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री तथा सातै प्रदेश सरकारका सामाजिक विकासमन्त्रीले संयुक्त रूपमा राष्ट्रिय अभियान सुरु गरेका थिए । विश्वव्यापी यो अभियान ३ महादेशका करिब २८ देशमा सञ्चालित छ ।