हेटौंडा जेसीज महसचिवमा न्यौपाने मनोनित

हेटौंडा जेसीज वर्ष सन् २०२५ को अध्यक्षमा पंकज दास बनियाँ पदस्थापित भएका छन् । बुधबार भएको शाखाको ४७ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमकाबीच दास अध्यक्ष पदमा पदस्थापित भएका हुन् ।
२०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले दासलाई अध्यक्षको माला हस्तान्तरण गर्दै अध्यक्ष पदमा पदस्थापित गराएका हुन् । अध्यक्षमा पदस्थापित दासले आफ्नो कार्यकाललाई नमुनालायक बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले महासचिवमा सन्जयकुमार न्यौपाने, कानुनी सल्लाहकारमा बिपिन ताम्राकार, कोषाध्यक्षमा विजय गोपालीसहित विभिन्न पदमा मनोनित गरेका छन् ।
हेटौंडा जेसीजको शाखा अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा सन्तोष पराजुली र विश्वप्रसाद गौतम तथा उपाध्यक्षमा विवेक फुयाँल, किरण आले, कुशल रिजाल र प्रविण श्रेष्ठ निर्वाचित भएका थिए । कार्यक्रम संयोजक विपिन ताम्राकारको संयोजकत्वमा भएको पदस्थापन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एलिना महर्जन, निरुपित राष्ट्रिय उपाध्यक्ष सुजन थापा काजी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि मन्त्री काफ्लेले अब युवाहरु राजनीतिमा लाग्न जरुरी रहेको धारणा राखे । राजनीतिमा युवाहरुको प्रवेशले मात्र मुलुकको विकास हुनसक्ने उनको भनाई थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्टलाई नगदसहित सम्मान गरिएको थियो भने हेटौंडा ९ नम्बर वडा अध्यक्ष शुकराम केसीलाई मानार्थ सदस्यताबाट सम्मान प्रदान गरिएको थियो ।
हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा सहयोग गर्ने व्यक्तिहरुलाई मायाको चिनो वितरण गरेका थिए । यस्तै सक्रिय सदस्यहरुलाई अवार्ड समेत प्रदान गरेका थिए ।