हेटौंडाको स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ– मन्त्री थापा

जनपत्र
९ माघ २०८१, बुधबार १९:००

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले हेटौंडाले स्वास्थ्य सेवामा ठूलो फड्को मारेको बताउनुभयो। लायन्स ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानको पुनर्नवा अस्पताल भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत ल्याएपछि सेवा सुधार भएको र थप प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

बिगतमा हेटौंडा अस्पताल रिफर सेन्टरको रूपमा चिनिएको भए पनि प्रतिष्ठान अन्तर्गत गएपछि विशेषज्ञ सेवा थपिँदै सेवा प्रभावकारी बनेको मन्त्री थापाले बताउनुभयो । हेटौंडामात्र नभई बागमती प्रदेशका सबै अस्पतालमा सेवाग्राहीको भिड देखिन थालेको भन्दै अझ प्रभावकारी बनाउन सरकारले थप योजना बनाउने बताउनुभयो । यस्तै आयुर्वेद अस्पतालहरूको विस्तार पनि सरकारको प्राथमिकतामा रहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री थापाले तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा प्रत्येक जिल्लामा आँखाको उपचार सेवा पु¥याइने जानकारी दिनुभयो। मन्त्री थापाले व्यक्तिगत रूपमा पुनर्नभा अस्पताल निर्माणको लागि १ लाख सहयोग गर्ने घोषणा गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयले जनताको स्वास्थ्य सेवामा सुधार गर्दै गुणस्तरीय सेवा पुर्‍याउन निरन्तर काम गरिरहेको मन्त्री थापाले बताउनुभयो। लायन्स क्लबको सहयोगले हेटौंडाको स्वास्थ्य सेवामा थप सुधार हुने अपेक्षा गरिएको छ। लायन्स क्लब हेटौंडाका अध्यक्ष तुलसी रिजालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*