मकवानपुरका वनकरियाको वास्तबिकता र सांसदहरुका प्रतिवद्धता

हेटौंडा । पस्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरिया वस्तिमा अन्तरसम्वाद कार्यक्रम गरिएको छ । स्थानीय वनकरियाहरुले आफ्ना बषौदेखिका समस्याहरु सांसदहरु समक्ष राखेका छन् ।
मकवानपुरगढी सञ्चार प्रा.लि. हेटौंडा–२ को आयोजना, नर्बेजियन दुतावास काठमाण्डौं तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा बनकरिया समुदायका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसम्वाद कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, पूर्व मन्त्री तथा बागमती प्रदेशसभाका सदस्य कुमारी मुक्तान, प्रदेशसभाका सदस्यहरु समिता खड्गी, सुना परियार, गिरबहादुर तामाङको कार्यक्रममा बिशेष आतिथ्यता रहेको थियो ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरिया वस्तिमा लोपोन्मुख वनकरिया समुदाय बस्छन् । करिब तीन दशक अघिसम्म जंगलमा फिरन्ते जीवन उनीहरुले बिताइरहेका थिए । उनीहरूको जीवनलाई सहज बनाउन सरकारले २०६२ सालमा मुसेधापस्थित कबुलियती वन उनीहरूलाई उपलब्ध गराएको थियो । अहिले बसोबास गरेकै स्थानको जग्गाको लालपुर्जा उपलब्ध गराइदिन सरकारसँग उनीहरूले माग गर्दै आएका छन् । तर सरकारले उपलब्ध गराउन सकेको छैन ।
मुसेधापमा अहिले २३ घरपरिवारमा ९३ जना वनकरिया परिवार बसोबास गर्दै आएका छन् । सरकारले २०६६ सालदेखि लोपोन्मुख दश वटा जातिलाई मुलुकको मूलधारमा ल्याउने उद्देश्यले वनकरिया समुदायलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ । मातृ संस्थाको प्रभाव रहेको यो समुदायको अगुवाका रुपमा महिलाहरु नै छन् ।
नेपालका लोपोन्मुख १० जातिहरूमध्ये ‘वनकरिया’ एक हो । २०५९ सालमा लोपोन्मुख आदिवासी जनजातिका रूपमा ‘वनकरिया’ जाति सूचीकृत भएको हो । अहिले उनीहरू सो बस्तीमा अस्थायी रूपमा बसोबास गरिरहेका रहेकाछन् । सन्तमाया हाल वनकरिया विकास संघको अध्यक्ष हुनुहुन्छ । संघमा अध्यक्ष भएकाहरूमध्ये उहाँ तेस्रो व्यक्ति तथा दोस्रो महिला हुनुहुन्छ । यसअघि जेठा वनकरिया र ठुलीमाया वनकरिया अध्यक्ष हुनुहुन्थ्यो । चेपाङ समुदायमा जन्मिनुभएकी सन्तमायाको विवाह जङ्गलमै बस्ने वनकरियासँग भएको थियो । उहाँका नौ जना छोराछोरी छन् ।
चार छोरीलाई जङ्गलमै हुर्काएको उहाँको स्मरण छ । गाउँमा जन्मेर वनकरिया जातिको व्यक्तिसँग बिहे गरेपछि करिब २० वर्ष जङ्गलमै बिताउँदा र अहिले फेरि गाउँमै बसेर समुदायकै अगुवाइ गर्दाको विशिष्ट अनुभव उहाँसँग छ । उहाँको कुराकानीमा वनकरियाहरू जङ्गलमा बस्दाको समग्र अनुभव, त्यसमा पनि महिलाहरूको विशेष अनुभव र अहिलेको जीवनशैलीलगायतका प्रसङ्गहरू सुन्न सकिन्छ । संसारमा इतिहास बलियाको मात्र लेख्ने गरियो । हेपिएका, पछाडि पारिएका, कमजोर र पराजित भएकाहरूको इतिहास खोज्न र लेख्न बाँकी छ । पछाडि पारिएका सबै जातजाति र समुदायको उत्पत्ति, विकास र जीवन पद्धतिका बारेमा यथोचित खोजतलास र विधिवत् अनुसन्धान गर्नै बाँकी छ । उनीहरूलाई बलिया जाति एवं शासकहरूले नै दपेटेर लोपोन्मुख पार्दै लोप बनाउने गर्छन् ।
कुनै पनि जाति समुदायको भाषा र संस्कृति लोप बनाएपछि सो जातिको अस्तित्व नै लोप हुने गर्छ । शक्तिमा रहेका उपल्ला जातका मानिसहरूले जनसङ्ख्यामा थोरै र निर्बलिया मानिसहरूको इतिहासँंगसँगै अस्तित्व नै लोप गराइदिने गर्छन् ।
लामो समयसम्म शासनको बागडोर उपल्ला जातिका मानिसहरूले नै कब्जा गरे । यसैले वनकरिया, फ्री, चेपाङ, कुसुन्डा, राउटेलगायत सीमान्तीकृत र लोपोन्मुख जातिहरूको उत्पत्ति र इतिहासका बारेमा पहिले नै खोजी गरिएन । उत्पत्ति र इतिहासकै खोजी नगर्ने शासकहरूले उनीहरूको भाषा र संस्कृतिको संरक्षण गर्ने कुरै थिएन र भएन । यद्यपि, पछिल्लो समय राज्यले लोपोन्मुख वनकरियालाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्ने काम गरेको छ ।
सूचीकरण राज्यले दिएको पहिचानको आधारभूत तह हो । यसपछि वनकरियाहरूका बारेमा मानवशास्त्रीय तथा समाजशास्त्रीय अध्ययन अनुसन्धानको व्यवस्था हुनुपर्छ । यस्तो हुन सकेको छैन । आदिवासी जनजाति समुदायका क्षेत्रमा काम गर्ने केही बुद्धिजीवी, गैरसरकारी सङ्घसंस्था र सञ्चारकर्मीहरूबाट भने वनकरिया समुदायको प्रचारप्रसारका साथै उनीहरूको उत्थानका लागि केही प्रयास भएको देखिन्छ । त्यही प्रयासका कारण वनकरियाहरू आफ्नो पहिचान दिन सफल भएका छन् । अब वनकरियाहरूको उत्पत्ति, विकास, भाषा र संस्कृतिबारे पनि पर्याप्त अध्ययन र अनुसन्धान हुनुपर्ने देखिन्छ ।
वनकरिया जातिका अगुवाहरूका अनुसार, उनीहरूका पुर्खा चुरेघाँच क्षेत्रमा जन्मिए र त्यतै हुर्किए । चुरेघाँचभित्र स्याउले छाप्रो बनाएर बसे पनि मूलतः घुमन्ते जीवन बिताए । घुमन्ते जीवन बिताउनाको पछाडि उनीहरूले मृत्युको घटनालाई कारक मानेको पाइन्छ । बसेको ठाउँमा कुनै एक जनाको मृत्यु भयो भने वनकरियाले त्यो ठाउँ छोड्थे । अर्को ठाउँमा गएर छाप्रो बनाएर बस्ने गर्दथे । यो समुदाय कसरी जङ्गलमा बस्न पुग्यो र वनकरिया नाम कसरी रह्यो भन्ने प्रश्नमा आधारित तथ्यको खोजी अझै भइसकेको छैन ।
वनकरियाहरू ‘वनदेवता’ माथि अगाध विश्वास गर्छन् । उनीहरू वनदेवता खुसी रहुन्जेल मात्र जङ्गलमा गुजारा गर्ने बताउँछन् । वनदेवता खुसी रहुन्जेलसम्म आफूहरूलाई बाघ, भालु, सर्प र अन्य वन्जयजन्तुले पनि केही नगर्ने ठान्छन् । हुरीले छाप्रो पनि नउडाउने उनीहरूको विश्वास रहेको पाइन्छ । १९९० सालमा भूकम्प हुँदा वनकरियाहरू जङ्गलकै छाप्रोमा थिए । त्यतिबेला भूकम्पले उनीहरूको छाप्रो जोडसँग हल्लायो तर भत्काउन सकेन भन्ने उनीहरूको भनाइ छ ।
मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडाबाट १७ किलोमिटर पश्चिममा रहेको सान्नानीटारबाट उत्तरतर्फ १० घन्टा जतिको पैदल यात्रा गरेपछि चुरेघाँचको जङ्गलमा पुगिन्छ । त्यहाँ उनीहरू छाप्रो बनाएर बसेका हुन्थे । उनीहरू त्यहाँ कसरी पुगे भन्ने तथ्य र प्रमाण वा आधिकारिक कुरा भेटिएको छैन । तर, राणा प्रधानमन्त्री जुद्धशमशेरले वनकरियाहरूलाई हाँडीखोलाको जङ्गल र वन्यजन्तु सखाप पारे भनेर त्यहाँबाट हटाएको कुरा छ । हटाएपछि उनीहरूलाई चुरेको जङ्गल दोराम, कामीखोला, शीतलपुर र मगुवातिर लखेटेको भनाइ स्थानीय वृद्धवृद्धाको छ ।
साबिकको हाँडीखोला गाविस वडा नम्बर ७ डाँडागाउँमा वनकरियाहरूका छाप्रा थिए । छाप्रा थाकल र स्याउलाबाट बनाइएको हुन्थ्यो । उनीहरू ती छाप्रामा वर्षमा ४५ दिन पनि बस्दैनथे । सधैँजसो जङ्गलमा नै घुमफिर गरी बस्थे । उनीहरूले जङ्गलबाट कुरिलो खोजेर छाप्रामा ल्याई उसिनेर बोक्रा ताछ्थे अनि त्यसलाई डाँडागाउँमा लगेर बेच्ने गर्थे । जङ्गलमा कुरिलो, खरेटो र गिट्ठा, भ्याकुुर खोज्ने कामलाई वनकरियाहरू ‘थकरीमकरी ज्यारपास बङ्ला आसमान’ भन्छन् ।
आदिवासी जनजाति प्रतिष्ठानले प्रकाशन गरेको आदिवासी जनजातिहरूको परिचयसहितको सूचीमा लोपोन्मुख वनकरिया जातिका जेठा वनकरियाको परिवारको तस्बिर छापिएको थियो । उक्त तस्बिर तत्कालीन जिल्ला विकास समिति मकवानपुरका सभापति रामेश्वर रानाले उपलब्ध गराएका थिए । तस्बिरको साथमा हाँडीखोलाको चुरेघाँचमा वनकरिया जाति बस्दै आएको उल्लेख थियो ।
चुरेघाँचमा जंगलमा भेटिएका जेठा वनकरियाले त्यतिबेला पूरै च्यातिएको ज्वारीकोट र टोपी लगाएका थिए । उनका पैताला नराम्रोसँग फुटेका थिए र फुटेका पैतालामा ढुङ्गा र काठसमेत पसेको देखिन्थ्यो । उनलाई आफूहरूलाई किन वनकरिया भनिएको भन्ने पनि थाहा थिएन । त्यतिबेला उनले लजाउँदै भनेका थिए, “वनमा बस्ने भएकाले नै हामीलाई वनकरिया भनेका होलान् ।”
जेठा वनकरियाको अहिले मृत्यु भइसकेको छ । हाँडीखोला मसिनेमाथिको चुरे जङ्गलका घाँचमा जेठा वनकरियाका भाइहरूका समेत गरी १२ जनाको बसोबास थियो । १२ मध्ये चार महिला र आठ पुरुष थिए । बालबालिकाहरू अर्धनग्न थिए । वनकरिया समुदायको अहिलेका अगुवा सन्तमाया वनकरिया हुन् । उनले चुरेघाँचमा नै ७ जना सन्तान जन्माएकी थिइन् । दुई जनालाई मात्र हाँडीखोलाको ट्वाङ्ग्रास्थित छाप्रामा जन्माएकी हुन् ।
हाँडीखोलाका स्थानीय अगुवाहरूले गाउँमा नै छाप्रो बनाएर उनीहरूका लागि बस्ने व्यवस्था गरिदिए । त्यति हुँदा पनि उनीहरू जङ्गलमा नै बस्न रुचाउँथे । सञ्चारकर्मी र स्थानीय अगुवाहरूले उनीहरूका विषयमा लगातार चासो राखेर गाउँमा नै बस्ने व्यवस्था मिलाएपछि उनीहरूले २०५२–५३ सालमा चुरेघाँचलाई छाडेका हुन् । आदिवासीरजनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा उल्लिखित आदिवासीरजनजातिमध्ये वनकरिया पनि एक हो ।
वनकरिया जातिका बारेमा समाजशास्त्री डा कृष्ण भट्टचनले लामो अध्ययन अनुसन्धान गरेका छन् । उनले यो जाति लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । डा राजेश गौतम र अशोक थापाद्वारा लिखित ‘ट्राइबल इथ्नोग्राफी अफ नेपाल’ नामक पुस्तकमा पनि उक्त जाति चुरेघाँच जङ्गलमा बस्दै आएको उल्लेख छ । खोज अनुसन्धान र संरक्षण नभएका कारण वनकरिया जाति लोप हुन लागेको डा गौतमले आफ्नो कृतिमा उल्लेख गरेका छन् । मुलुकका अन्य भागमा बसोबास नभएको वनकरिया समुदायको मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापस्थित २१ घरधुरीमा बसोबास गर्छन् । विगतको उनीहरूको स्याउले छाप्राको ठाउँमा जस्तापाताको छाना भएको काठको घर छ । सोचदेखि संरचनासम्ममा परिवर्तन आएको छ । विगतमा दसैँतिहारमा मिठो मसिनो खान पनि अरूको भर पर्नुपर्ने वनकरियाहरूको अवस्था अहिले आफ्नै कमाइमा अडिएको छ । आफ्नै कमाइ र उत्पादनले प्राण धान्नसक्ने भएका छन् ।
तत्कालिन जिल्ला वन कार्यालय हेटौँडाले वनकरियाहरूलाई २०६२ साल चैत २८ गते कबुलियती वनको ९ हेक्टर जमिन उपलब्ध गराएको थियो । त्यही जमिनमा खनीखोस्री गरेर उनीहरू खाद्य बालीदेखि तरकारी बालीसमेत लगाउँछन् । भूकम्प जाँदा भत्किएका घरहरूको पुनर्निर्माण गर्नदेखि उनीहरूलाई साक्षर बनाउनेलगायतका काममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले सहयोग गरिरहेको छ । हिजोआज पढ्ने उमेरका सबै बालबालिका स्कुल जाने गरेका छन् ।
वनकरियाहरूमध्ये पाँच जना छात्रा र एक जना छात्रले एसईई उत्तीर्ण गरिसकेका छन् । तीन छात्राले यसै वर्ष एसईई उत्तीर्ण गरेका हुन् । सबैभन्दा पहिला एसईई उत्तीर्ण गर्ने पम्फा ल्याब टेक्निसियन बनेकी छन् भने सन्तोषी जेटिएको अध्ययन सकेर समुदायकै अगुवाको रूपमा क्रियाशील छन् । अनिल भेटेनरी विषय अध्ययन गर्दैछन् । यो समुदायमा पुरुषभन्दा महिलाहरू सक्रिय र सक्षम छन् । शिक्षादेखि अरू सामाजिक कामहरूमा पनि महिलाहरू अगाडि रहेका देखिन्छन् ।
महिला हुन् या पुरुष, उमेर पुगेका वनकरियाहरूलाई ‘धर्तीपुत्र’ मानेर २०६२ सालमा नागरिकताको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसअघि उनीहरू कसैसँग पनि नागरिकता प्रमाणपत्र थिएन । अहिले त्यही प्रमाणपत्रका आधारमा वनकरियाहरूले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । जन्मदर्ता गर्नेबित्तिकै वनकरियाले मासिक ४ हजार रुपैयाँका दरले चार चार महिनामा सामाजिक सुरक्षा भत्ता पाउँछन् । २०६६ सालदेखि उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउन थालेका हुन् । सरकारले लोपोन्मुख वनकरियासहित १० जातिलाई राष्ट्रको मूलधारमा ल्याउने उद्देश्यले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।
वनकरियाहरुको परिवर्तनको मुख्य आधार सरकारले १२ वर्षदेखि दिँदै आएको सामाजिक सुरक्षा भत्ता हो । ठुलीमायाका परिवारमा आठ जना सदस्य छन् । सबैको जोड्दा उनको परिवारले सामाजिक सुरक्षा भत्ताबापत मासिक ३२ हजार रुपैयाँ बुझ्छ । भत्ता पाउनुअघि बिहान बेलुका हातमुख जोर्न समस्या रहेको ठुलीमायाको परिवारलाई अहिले त्यो समस्या टरेको छ । तिनको निम्ति दुई मुरी मकै पनि छ । नातिनातिना स्कुल पढ्न जाने गरेका छन् । उनले गाउँकै सहकारीमा मासिक ५० रुपैयाँ बचत पनि गर्दै आएकी छन् ।
ठुलीमायाको जस्तै विष्णुमाया वनकरियाको पनि सामाजिक सुरक्षा भत्ता अहिले जीवन धान्ने आधार भएको छ । उनको ११ जनाको परिवार छ । विष्णुमायाको घरमा मासिक ४४ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता भित्रिने गर्छ । त्यसबाट आयआर्जनका निम्ति उनले गाई, बाख्रा र सुँगुर किनेर पालेकी छन् । कबुलियती वनले दिएको जग्गामा माछापालन पनि गरेकी छन् । विष्णुमायाको घरको छाना फेरिएको छ । सुरुसुरुमा भत्ता बुझेपछि उनले गाई, गोरु, बाख्रा र सुँगुर किनेकी थिइन् । तिनै गाईवस्तु पनि उनको आम्दानीका स्रोत भएका छन् । उनको घरबाट अहिले छोराछोरी र नातिनातिना गरेर पाँच जना पढ्न स्कुल जान्छन् ।
ठुलीमाया, विष्णुमायाको जस्तै सन्तमाया वनकरियाको परिवार पनि अहिले आत्मनिर्भर भएको छ । सन्तमायाले भनिन्, “सरकारले दिएको भत्ताले गाई, गोरु, बाख्राले गोठ पनि भरिएको छ, खान लाउन पनि समस्या छैन ।”
वनकरियाहरू घरजग्गाको मामिलामा भने स्वामित्वविहीन अवस्थामा छन् । झन्डै साढे दुई दशकदेखि बस्दै आएको मुसेधापको छाप्राले ओगटेको जग्गा पनि उनीहरूको नाममा छैन । त्यो जमिन र कमाइ गर्दै आएको जग्गा पर्सा राष्ट्रिय निकुन्जभित्र पर्छ । निकुन्जले उनीहरूलाई त्यहाँबाट हटाउन विभिन्न किसिमका दबाब दिँदै आएको छ ।
त्यसैले अहिले अस्तित्व, पहिचान र स्थायी बसोबासको दोभानमा उभिएका छन् वनकरिया समुदाय । नेपालभर यस जातिको जनसङ्ख्या जम्मा ९३ मात्र रहेको छ भने घरधुरी सङ्ख्या २३ छ । यस समुदायमा विवाहका लागि योग्य उमेर समूहका पुरुषभन्दा महिलाको सङ्ख्या बढी भएकाले जनसङ्ख्या घट्दो रहेको देखिन्छ । महिला विवाह गरेर समान संस्कृति भएका चेपाङ जातिसँग जाने भएकाले जनसङ्ख्या घट्दो भएको स्थानीयवासी बताउँछन् । उनीहरूमा चेपाङ समुदायसँग विवाहबारी गर्ने चलन छ ।
दुई दशक अघिदेखि मात्रै फिरन्ते जीवनशैलीलाई त्यागेर एकै स्थानमा बसोबास सुरु गरेका आदिवासी वनकरिया जातिले अझै पनि स्थायी बसोबास गर्न पाएका छैनन् । केही वर्षअघि देशका ‘धर्तीपुत्र’ भएको ठहरसहित स्थानीय प्रशासनमार्फत नागरिकता पाएका वनकरिया जाति अहिले पनि शतप्रतिशत सुकुम्वासी छन् ।
कार्यक्रममा कसले के भने ?
सन्तोषी वनकरिया
कार्यक्रममा वनकरिया समुदायको लिडर सन्तोषी वनकरियाले वनकरिया जाति भूमी पुजक भएर पनि किन जग्गाधनी लालपुर्जा पाएनौं ? भनेर प्रश्न गर्नुभयो । २०६२ सालमा २० बर्षको लागि दिइएको कागजको समय २०८२ बैशाखमा सकिदै छ । त्यसपछि हामी कहाँ जाने ?
मैले साबुन उत्पादन गर्ने सीप सिकेको थिएँ । जानेको सीपको प्रयोग गरेर व्यवसायी बनौं न त भन्दा लालपुर्जा नभएर प्यान दर्ता गर्न पाइनँ । व्यवसाय दर्ता गर्न नपाएपछि काम नै तीन महिना रोकियो । वडाध्यक्ष दाईले आफ्नो जग्गा राखेर उद्योग दर्ता गर्ने वातावरण बनाइदिनुभयो । सधैं हामी यसरी नै कतिञ्जेल चल्ने ?
संगिता वनकरिया
यस्तै, स्थानीय संगिता वनकरियाले आफ्नो समुदायको लागि भत्ता होइन, रोजगारी चाहिएको बताउनुभयो । लालपुर्जा र रोजगारी भए सरकारले दिएको भत्ता बन्दा बढी हुने उहाँले बताउनुभयो । सरकारले वनकरियाका बालबालिकालाई १ देखि १० कक्षासम्म निशुल्क पठाइदिएको छ भन्छन् । तर हाम्रो बालबालिकाको महिनैपिच्छे हामीले फि बुझाइरहेका छौं । यसको लागि हामीले कस्लाई भन्नुपर्ने हो ?
जग्गा छैन । भएको अलिकति जग्गामा पनि उत्पादन हुँदैन । महिनाको ४ हजार रुपैंया भत्ता आउँछ । त्यो पनि तीन÷तीन महिनाको दरमा । त्यो बेलासम्म उपचार गर्न, खान र बालबच्चा पढाउन लाखौं खर्च भैसक्छ । यसको जिम्मेवारी कसले लिइदिन्छ ?
राम वनकरिया
यस्तै स्थानीय राम वनकरियाले आफूहरु बसोबास गर्ने स्थानमा बाटोको पनि असुविधा रहेको बताउनुभयो । बाटो पनि छैन । बर्खामा खोलाको बाटो हिड्नै सकिदैनँ । बालबालिकाहरुलाई विद्यालय पुग्न मुस्किल छ । भएको कच्चीबाटोमा बर्षभरी गाडि चल्ने व्यवस्था मिलाइदिन पर्यो । स्थानीय सरकार र प्रदेश सरकारले हाम्रो समस्यामा पनि ध्यान दिनुपर्यो ।
विष्णु बहादुर प्रजा
अर्का स्थानीय बिष्णु बहादु प्रजाले विद्यालय टाढा रहेको कारण वनकरिया बालबालिकाहरुको पढाइ छुट्ने गरेको दुखेसो गर्नुभयो । ७४ सालको बाढीले बस्ती बगाएपछि यो बस्तीमा आएर बसिरहेका छौं । यहाँबाट सबै बालबालिकाहरु पढ्न अहिले पनि उतै जानुपर्ने बाध्यता छ । विद्यालयको व्यवस्था यतै गरिदिन पहल ग।िरदिनुहुन अनुरोध गर्दछु ।
उहाँले थप्नुभयो, निकुञ्जका कारण बस्न पनि निकै समस्या भैरहेको छ । आर्मीहरु घर घेर्न आउँछन् । यो समस्याबाट हामीले कहिले मुक्ति पाउने ?
कुमार वनकरिया
यस्तै कुमार वनकरियाले एसएलसी पास भएका भाईबहिनीको रोजगारीको ग्यारेण्टी सरकारले नलिएको प्रति गुनासो गर्नुभयो । एसएलसी पास भएका मेरा भाइबहिनीहरु अहिले ट्याक्टरमा लोड अनलोड गर्ने, कुचो लगाउने काम गरिरहेका छन् । बनकरियालाई एसएलसी पास गर्नुस् जागिर लगाइदिन्छु भन्नुहुन्थ्यो । खै त हाम्रा लागि जागिर ? खै हाम्रो लागि अवसर ?
सन्तमाया प्रजा
कार्यक्रममा प्रश्न गर्दै सन्तमाया प्रजाले आफूहरु बसोबास गरिरहेका जग्गा आफ्नै नाममा आउनुपर्ने बताउनुभयो । यो भूमि हाम्रो नाममा हुनुपर्यो । नत्र हामी आउने बैशाखपछि कहाँ जाने ? हामीले लालपुर्जा कहिले पाउँछौं ? कि हामीलाई प्रमाण दिनुस् । कि त फेरी जंगलमै पठाइदिनुस् । हामी हाम्रो तरिकाले बाँच्छौं ।
माया वनकरिया
त्यसोत, माया वनकरियाले वनकरिया भाषा लोभ हुन लागेको प्रति चिन्ता व्यक्क्त गर्नुभयो । हाम्रो भाषा बोल्न जान्ने ४ जनामात्र हुनुहुन्छ । हाम्रो भाषाको किताब बनाउन आवश्यक छ । यसको लागि हजुरहरुले पहल गरिदिन पर्यो ।
यस्तो छ सांसदहरुको प्रतिवद्धता
बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ
त्यसोत सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुको प्रश्नको जवाफ दिदैँ उद्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति श्रेष्ठले सरकारको तर्फबाट जग्गाधनी पुर्जा लगाएत अन्य अधिकारको क्षेत्रमा काम भैरहेको बताउनुभयो ।
हरेक क्षेत्रको समस्या ऐन कानुन बाँझिएको कारण यसको परिमार्जन गर्न जरुरी रहेको बताउनुभयो । वनकरिया समुदायले जग्गा प्राप्तीका लागि विभिन्न ठाउँमा बुझाएको विज्ञप्तीको प्रतिलिपी आफ्नो समितिमा समेत वडाध्यक्ष मार्फत उपलब्ध गराउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक संरचना परिवर्तन भयो तर राज्य संरचना परिवर्तन गर्न सकिएको छैन । ऐन र कानुनको परिधिले धेरै कुराहरु चाहेर पनि गर्न सकिएको छैन । आवश्यकता भन्दा पनि पहुँचको आधारमा बजेट पुग्दा सोचेजस्तो उपलब्धि हात पार्न सकिएको छैन । यद्यपी, हामी सबै सभापतिहरुको बैठक सभामुख ज्यु को अध्यक्षतामा बस्छ । त्यो बैठकमा यहाँ भएका कुरा जस्ताको त्यस्तै लगेर कानुन बनाउने प्रक्रिया सुरु गर्नेछु ।’
शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्य तथा प्रदेशको पूर्व मन्त्री कुमारी मोक्तान
शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्य कुमारी मोक्तानले वनकरिया भाषा संरक्षणमा स्थानीय सरकार पनि लाग्न जरुरी रहेको बताउनु भयो । यसको साथै आफूले पनि यस समुदायको हक, अधिकार र सुरक्षाको लागि सदन र समिति दुवैमा आवाज उठाएर लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।
यस समुदायका बालबालिकालाई शिक्षाबाट बञ्चित गराउन नहुने बताउँदै उहाँले भन्नुभयो, कक्षा १२ पढेकालाई प्रदेश सरकारले उच्चशिक्षा अध्ययनका लागि छात्रबृद्धि उपलब्ध गराउँदै आएको छ । यदी पढ्न चाहानुहुन्छ भने म पुलको काम गरेर यहाँहरुलाई पूर्ण छात्रबृद्धि दिलाउन भूमिका खेल्नेछु ।
सार्वजनिक लेखा समिति सदस्य गिर बहादुर तामाङ
यता सार्वजनिक लेखा समिति सदस्य तथा प्रदेश सांसद गिर बहादुर तामाङले वनकरियाको भाषा, संस्कृति संरक्षणका लागि आफूहरुले काम गर्नुपर्ने बताउनुभयो । यस्तै जग्गाधनीको निस्सा प्राप्त गरिसकेको अवस्थामा अब पुर्जा दिलाउनका लागि प्रदेश सरकार लाग्नेछ । हामी सांसदहरु लाग्नेछौं । फिल्डमै आएर हेर्दा यहाँको पीडा फिल गर्न पायौं, उहाँले भन्नुभयो ।
अर्थ समितिकी सदस्य सुना परियार
कार्यक्रममा वनकरिया समुदायले राखेको सवालहरुको जवाफ दिदैँ अर्थ विकास समितिकी सदस्य सुना परियारले अब आफ्नो पहिलो काम नै वनरिया समुदायको अधिकारको बिषयमा आवाज उठाउने हुने बताउनुभयो । यहाँका समस्या थाहा पाएका थिएनौं, उहाँले भन्नुभयो, ‘काममा यहाँको समस्या समितिमा उठाउँछु । एसईई पढेर त्यो भन्दा माथि पढ्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अभावका कारण पढाई छोडेका भाईबहिनीहरुलाई उच्च शिक्षाको लागि व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता गर्दछु ।’
शिक्षा स्वास्थ्य तथा कृषि समिति सदस्य समिता खड्की
यस्तै, शिक्षा, स्वास्थ्य तथा कृषि समितिकी सदस्य समिता खड्कीले यस समुदायको दुखका कुरा सुन्दा कायषर््क्रम अवधिमै पटक÷पटक आफ्नो आँखा रसाएको बताउनु भयो । यद्यपी, आफ्नो समुदायको हक अधिकारको लागि पहलकदमी गर्न उत्सुत्कतापूर्वक जागरुक हुन जरुरी रहेको बताउनुभयो ।
यहाँ आएर यत्तिका समस्या सुन्ने र बुझ्ने मौका पाएँ, उहाँले भन्नुभयो, ‘अब यस वनकरिया समुदायको समस्या समाधानका लागि सदन र समिति दुवैमा कुरा उठाउनेछु ।’
युएनडिपिका नीति तथा कार्यक्रम समर्थन व्युरो उपसहायक प्रशाशक र उपनिर्देशक डाक्टर फ्रान्सिन पिकअप
संसदीय अभ्यासमा छानिएर अथवा चुनिएर गएका सांसदहरुले स्थानीयको ठाउँमै आएर बुझने, सुन्ने र प्रत्यक्ष रुपमा स्थानीयको चासो, चिन्ता र समस्याका कुराहरु बुझ्न पाउने यो प्रक्रिया निकै राम्रो अभ्यास रहेको बताउनुभयो ।
सांसदहरुसँग यहाँ सुनेका कुराहरु आफ्नो नीति निर्माणमा प्रयोग गर्नुहुन्छ भन्ने अपेक्षा गरिएको बताउँदै उहाँले भन्नुभयो, यूएनडीपीले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर सहकार्य गर्न सधैैं तत्पर छौं । यहाँ वनरिया समुदायले भूमि पुर्जाको अधिकारका कुरा, वन जंगलको स्रोतको अधिकारको कुरा, शिक्षाको कुरा, स्वास्थ्यको कुरा, जागिर पाउनुपर्यो भन्ने लगाएतका बिषयमा माग गर्नुभएको छ । यो निकै महत्वपूर्ण छ ।
कार्यक्रममा उपस्थित महिला र युवाहरुको उपस्थितीले पक्कै आफ्नो अधिकार प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिइएको उहाँले बताउनु भयो ।
यस्तै, कार्यक्रमका सहजीकरण गर्नुहुने पत्रकार गोविन्द खड्काले यो कार्यक्रमले वनकरिया समुदायको समस्याको समाधान खुल्ने अपेक्षा गरिएको बताउनुभयो ।