हेटौंडामा बालश्रम अन्त्यका लागि नीतिगत छलफल कार्यक्रम
हेटौंडा । श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयेजनामा आज हेटौंडामा बालश्रम अन्त्यका लागि नीतिगत छलफल कार्यक्रम भएको छ । कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रदेश सरकारले बालश्रम नीति ल्याउने बताउनुभयो ।
बालश्रम अन्त्यका लागि मन्त्रालयले अहिले काम गरिरहेको बताउनुभयो । यस कार्यक्रमका लागि सरकारले बजेट छुट्याएर काम गर्न लागेको समेत बताउनुभयो । महर्जनले समृद्धिका लागि बालश्रम अन्त्य हुनुपर्ने बताउनुभयो।
मन्त्री महर्जनले पछिल्लो समय गरिबीका कारण मात्रै बालश्रम नहुने बताउनुभयो । बालबालिकाहरु बालश्रममा लाग्नुको मुख्य कारण परिवारिक कलह, अशिक्षा, विद्यालय टाढा हुनु लगाएतले पढाइ छोडेर बालश्रममा लाग्ने गरेको बताउनु भयो ।
यसरी समाजमा भएका बालश्रम अन्त्य गर्नका लागि प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नीतिगत ढंगबाट अघि बढ्न बालबालिकाहरुसँग सरोकार राख्ने संघ संस्थाहरुसँगको छलफल गरेर अघि बढ्ने बताउँदै मन्त्री महर्जनले भन्नुभयो, ‘परिवारमा कलह भएकै कारण बालबालिकाहरुले पढाई छाड्ने गरेका छन् । प्रायःजसको कलहरु आर्थिक अभावका कारण हुनेगरेको उदाहरणहरु थुप्रै छन् । जसकारण आर्थिक उपार्जन गर्ने क्रियाकलापहरु सञ्चालन गर्न मन्त्रालयले नीति बनाएर अघि बढ्छ ।’

मन्त्री महर्जनले बालश्रम अन्त्य गर्नका लागि प्रदेशका अन्तर मन्त्रालयको सम्बन्ध कायम राख्न जरुरी रहेको र आफूहरुले सामाजिक विकास र उद्योग मन्त्रालयसँग सहकार्य गर्ने प्रतिवद्धता समेत जनाए । विद्यार्थीहरुको विद्यालय टाढा भएकै कारण विद्यालय छोड्नेक्रम बढेको उहाँले बताउनुभयो ।
दिगो विकास लक्ष्य ८.७ का लागि नागरिक मञ्च बागमती प्रदेशका अध्यक्ष प्रकास खतिवडाले बालश्रम अन्त्यका लागि सबैको सहयोग आवस्यक रहेको बताउनुभयो ।
मन्त्रालयका सचिब बलराम निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य विन्दु श्रेष्ठ, प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र श्रेष्ठ, स्वतन्त्रता अभियान नेपालका कार्यकारी सचिब रितु भट्ट राइ, राष्ट्रिय बालसंरक्षण सञ्जालका अध्यक्ष ज्ञानभक्त महर्जन, लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रदेशका बिभीन्न मन्त्रालय, कार्यालय, संघसंस्था तथा स्थानीय तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा स्वतन्त्रता अभियान नेपाल, दिगो विकास लक्ष्यका लागि नागरिक मञ्च र राष्ट्रिय बाल संरक्षण सञ्जालको सहकार्य रहेको थियो ।







