बागमती प्रदेश प्रमुख शर्माद्वारा सरकार गठनको आह्वान, मुख्यमन्त्रीका लागि सोमबार दावी पेश गर्ने

जनपत्र
६ श्रावण २०८१, आईतवार २०:०६

हेटौंडा । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले साउन ८ गते अपराह्न ५ बजेभित्र सरकार गठनका लागि आइतबार आह्वान गरेका हुन् ।

कांग्रेस–एमाले गठबन्धन बनेसँगै माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल नेतृत्वको वाग्मती प्रदेश सरकार ढलेको हो । वाग्मतीमा अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सरकारले नेतृत्व गर्ने भएका छन् ।

कांग्रेस संसदीय दलको बैठकले उनको नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरिसकेको छ । वाग्मतीमा पहिलो पटक कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुन लागेको हो ।

१ सय १० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशमा कांग्रेस र एमालेको सहजै बहुमत पुग्ने अवस्था छ । प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा ९एस०का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले सोमबार मात्र दावी पेश गर्ने भएको छ ।

कांग्रेसबाट संसदीय दलको नेता बहादुर सिंह लामाले सोमबार सरकारमा दावी पेश गर्ने भएका छन् । नेता लामाले एमाले र कांग्रेसको समर्थनमा सरकारमा दावी पेश गर्न लागेका हुन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दावी पेश गर्न आह्वान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*