किन मनाइन्छ साउने संक्रान्ति ? यस्तो छ महत्व

जनपत्र
१ श्रावण २०८१, मंगलवार ०५:३२

आज साउने संक्रान्ति, यसलाई कर्कट संक्रान्तिका रूपमा पनि मनाइन्छ । आज विविध सांस्कृतिक एवं धार्मिक पर्व समेत मनाइन्छ । लुतो फाल्ने दिनका रूपमा यसदिन विशेष सरफाई गरिन्छ भने बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । सौरमासका हिसाबले आजबाटै सूर्य कर्कट राशिमा (कर्कट रेखा) प्रवेश गर्ने भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । यससँगै सूर्यको दक्षिणायण हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यस दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ।

साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व रहेको बताइन्छ। सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । माघेसंक्रान्तिसँगै सुरू भएको सूर्यको उत्तरायण गति साउने संक्रान्तिसँगै दक्षिणायण तर्फ मोडिन्छ । यस दिनदेखि दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । सबैभन्दा छोटोदिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन शुरु हुनेकुरा विज्ञान सम्मत र शास्त्र सम्मत रहेको छ ।

यस दिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ। निबुवा लगायत अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ। कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ। सुदूरपश्चिममा यसैदिनबाट ‘कालो महिना’ लाग्यो भन्ने गरिन्छ र दैलो वरिपरि झिझिरकाँडी लगाइन्छ भने अगुल्टो फ्याँक्दै रोगब्याधि तथा खराब तत्त्वलाई भगाउने चलन छ । साथै यस महिनाभर देवीदेउताको विशेष पूजा, र निरन्तर दियो बाल्ने गरिन्छ । महिलाहरूले हातभरि मेहेन्दी लगाउने, हरियो लुगा र चुरापोते लगाउने चलन पनि यसै दिनबाट सुरू हुन्छ ।

कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन् । पूर्वतिर किरातलगायतका समुदायले एकाबिहाने वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने गर्छन् । केही स्थानमा भने साउने संक्रान्तिका दिन छोरीचेलीलाई बोलाएर ख्वाउने चलन पनि छ। यसै दिनबाट नयाँ आर्थिक वर्षको प्रारम्भ समेत हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*