जसोजसो प्रतिनिधि सभा उसैउसै राष्ट्रिय सभा

जनपत्र
३ जेष्ठ २०८१, बिहीबार १४:५५

काठमाडौं । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक साँझ ४ बजेका लागि सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितका शीर्ष नेताहरू संवादमा रहेको र प्रतिनिधि सभाको अवरोध खुलाउने पहल जारी रहेको भन्दै प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भयो ।

प्रतिनिधि सभाको बैठक स्थगित भएको केही बेरमा राष्ट्रिय सभाको बैठक पनि सर्‍यो । जबकि राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको थियो ।

प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजेका लागि सरेपछि त्योभन्दा ढिलो साढे ४ बजे बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

यसरी प्रतिनिधि सभाको बैठक हेरेर राष्ट्रिय सभा चल्ने अवस्था आउनु गलत भएको सत्तारुढ दलकै सांसदहरू बताउँछन् । माओवादी केन्द्रका एक सांसद भन्छन्, ‘प्रतिनिधि सभामा लामो समयदेखि सहकारीको विषय उठेको छ । त्यहाँ उठेको विषय त्यही सम्बोधन हुने प्रयास भइराखेको छ । तर प्रतिनिधि सभामा के भएको छ भनेर राष्ट्रिय सभा समेत प्रभावित हुन थालेको छ यो गलत हो ।’

सभामुख देवराज घिमिरे प्रतिनिधि सभाको बैठकलाई सौहार्द बनाउन प्रधानमन्त्री प्रचण्ड सहितका नेताहरूसँग संवाद गरिरहेका छन् । प्रतिनिधि सभामा रहेका दलका प्रमुख सचेतक र सचेतकहरूसँग संवाद गरिरहेका छन् ।

तर विना कारण राष्ट्रिय सभाको बैठक स्थगित गरिएको भनेर राष्ट्रिय सभा सदस्यहरू नै असन्तुष्ट बनेका छन् ।

यसअघि २८ वैशाख २०८१ मा बसेको बैठकमा सांसदहरूले नै प्रतिनिधि सभाको छाया राष्ट्रिय सभामा पर्न थालेको भनी नेतृत्वको ध्यानाकर्षण गरेका थिए ।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । यो विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने उसको माग छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*