एमाले चितवनको जिल्ला अधिवेशन जेठ १० देखि १२ गतेसम्म

जनपत्र
२४ बैशाख २०८१, सोमबार ११:००

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन जेठ १० गतेदेखि १२ गतेसम्म हुने भएको छ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ ।

अधिवेशनका लागि विभिन्न उपसमितिहरु समेत बनेका छन् । जिल्ला पदाधिकारीको वैशाख २० गते बसेको बैठकले वैशाख २९ गते एकैदिन जिल्लाभरि प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । वडा कमिटीले २९ गते प्रतिनिधि छनोट गरेपछि जेठ २ गतेभित्र प्रतिनिधिको नाम जिल्लामा पठाइसक्नुपर्ने भनिएको छ ।

प्रतिनिधिको नाम जिल्लामा आइसकेपछि पुनः प्रतिनिधि व्यवस्थापन उपसमितिको बैठक बसेर प्राप्त नामहरुको सम्पूर्ण विवरणको रेकर्ड व्यवस्थापन गर्ने तयारी गरिएको कार्यालय सचिव श्यामकुमार विष्टले जानकारी दिए ।

करिब १२ हजार संगठित सदस्यहरुबाट प्रतिनिधि चयन गरी ७ सय ५० जना हाराहारीमा प्रतिनिधिहरु जिल्ला अधिवेशनमा सहभागी हुनेछन् ।

अधिवेशनले आगामी ३ वर्षको कार्यकालको लागि १ सय ४३ जना जिल्ला कमिटी चयन गर्नेछ । अधिवेशनको उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।

बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीको संयोजकत्वमा समृद्ध चितवन निर्माण कार्यदल समेत बनेको छ ।

अधिवेशन एवं पार्टी स्थापनाको हिरक वर्षका अवसरमा भूमिगतकालीन अवस्थामा भूमिगत रहेका नेता, उनीहरुलाई आश्रय दिने आश्रय दातालगायतलाई सम्मान गर्ने एमालेले जनाएको छ ।

अध्यक्षमा न्यौपाने र पाठकको दावी

एमाले चितवनको नयाँ अध्यक्षमा अहिलेका अध्यक्ष रामप्रसाद न्यौपाने र उपाध्यक्ष कमलराज पाठकले दावी गरेका छन् । विधानत ३ वर्षे कार्यकाल भए पनि पूरा अवधि काम गर्न नपाएकोले एकपटक फेरि अध्यक्ष दोहो¥याउने पक्षमा छन् न्यौपाने ।

आफू अध्यक्ष भएदेखि नै चुनाव नै चुनावमा लाग्नुपरेकोले पार्टीलाई बलियो बनाउने गरी काम गर्न नसकेको र त्यसका लागि दोहोरो कार्यकालका लागि दोहोरिन चाहेको न्यौपानेले बताउँदै आएका छन् ।

अहिलेका उपाध्यक्ष कमलराज पाठकले यसअघिको अधिवेशनमा आउने अधिवेशनमा आफूलाई अध्यक्ष दिने विषय भएकोले यसपटक नछाड्ने बताउँदै आएका छन् । उनले भए सर्वसम्मत नभए चुनावी प्रक्रियामा भए पनि जाने मनस्थिति बनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*