मकवानपुरका बिकट गाउँमा थपिंदै विकास, रित्तिंदै गाउँबस्ती

जनपत्र
६ बैशाख २०८१, बिहीबार ०६:३९

हेटौंडा । मकवानपुरका दश वटै स्थानीय तहका गाउँ–गाउँमा बिकास थपिदै गएको छ । तर, गाउँबस्ती भने पछील्लो समय रित्तिदै गएका छन् । मकवानपुरका पहाडी क्षेत्रबाट बेसीतिर झर्नेहरुको सख्या दिनहुँ बढ्दै गएको छ ।

बिशेषगरी मकवानपुरका स्थानीय सरकारले बिकट गाउँलाई प्राथमिकता दिएर सडक, खानेपानी र बिजुली पुर्याउनका लागि काम गरेका छन् । वस्ती भने रित्तिदै गएको छ । विकास गाउँ पस्यो मानिस शहर। जिल्लाका पहाडी क्षेत्रमा विकास र मानिसबीच बेजोडको लुकामारी छ। विकास थिएन, मानिसको चहलपहल गाउँ(बस्तीमा बाक्लो थियो। विगतको तुलनामा सडक-पुलपुलेसा बनेका छन्। बिजुली र सञ्चार सुविधा घर–घरमा पुगेको छ। टोल–टोलमा खानेपानीको पहुँच छ। विद्यालय र स्वास्थ्य चौकीहरू थपिएका छन्। धुले सडकहरू स्तरोन्नति हुँदैछन्।

कच्ची घरहरूलाई जस्तापाता र सिमेन्टका घरहरूले विस्थापन गरे। विकासका सूचकहरू सकारात्मक बन्दैछन्। विगतको ‘आफ्नो गाउँ आफैं बनाउँ’ भन्ने नाराले गाउँ विकासमा एउटा सकारात्मक सन्देश छर्‍यो ।

तीन तहका सरकार बनेपछि विकासले अझ गति लियो। तर विडम्बना गाउँबस्तीमा पूर्वाधारहरू थपिंदै जाँदा उपभोग गर्ने मानिस पातलिए। बाबु–बाजेदेखि आर्जेको अचल सम्पत्ति चटक्कै छोडेर हिंडेका छन्।

पहाडी क्षेत्रबाट तल बेसी झर्नेहरु मकवानपुरको कैलाश, राक्सिराङ, थाहा नगरपालिका, इन्द्रसरोवर, भीमफेदी, मकवानपुरगढी, हेटौंडा उपमहानगरपालिकाका बिकट क्षेत्र, बागमती गाउँपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिका क्षेत्रका पहाडी क्षेत्रबाट तल बेसी झर्नेहरुको संख्या धेरै रहेका छन् ।

बिेशषगरी मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ नयाँ गाउँको शिरानमा सडक, वत्ति, पानी र इन्टरनेटको सुविधा पुगेको छ । तर, यहाँका धेरै घरहरु रित्तै रहेका स्थानीय वासिन्दाहरु बताउँछन् । पहाडी क्षेत्रमा पर्ने नयाँ गाउँका बारीमा उब्जनी राम्रो हुने भएपनि छोराछोरी बिदेश जाने र पहाडी क्षेत्र भएकाले ओहोर दोहोर गर्न समस्या र धेरै परिवार हेटौंडा लगायतका शहरमा झरेकाले आफुहरु पनि तल बेसीमा झरेको स्थानीय गोविन्द तिमल्सीना बताउनुहुन्छ ।

उहाँ मात्र होइन नयाँगाउँबाट धेरै परिवार बेसीमा र हेटौंडा उपमहानगरपालिका क्षेत्रमा झरेका छन् । वडा नम्बर–५ कै खैरेनीको सिरानका स्थानीय वासिन्दाहरु पनि धेरै बेसीमा झरेका छन् त कोही हेटौंडामा आएर बसेको बताउँछन् ।

पहाडी क्षेत्रबाट बेसी तिर झर्नुको कारण भनेको परम्परागत कृषि व्यावसायिक हुन सकेन । दिनप्रतिदिन कृषि उत्पादन घट्दो छ। कृषकले समयमा मल(बीउ, विषादी, कृषि औजार पाउँदैनन्। बाँदर, दुम्सी लगायत जंगली जनावरले उत्पादित फसल नष्ट गरिदिन्छन्। सिंचाइको राम्रो व्यवस्था नहुँदा आकाशको भर पर्नुपर्छ। खडेरी, अधिक वर्षा, असिनापानी, हावाहुरीको मार सहनुपर्ने भएकाले पनि शहर भरेको सिताराम सापकोटा बताउनुहुन्छ ।

थोरै उत्पादन हुँदा बिक्री–वितरणमा समस्या छ। बेचे पनि भाउ आउँदैन। लागत उठ्दैन। खेतीपाती गर्ने जनहरू शहर र विदेश पुगे। बुढाबुढीले खेती गर्न सक्ने अवस्था छैन। खेतबारी बाँझो छ। वर्षभरि दुख गर्दा पनि एक छाक मीठोमसिनो खान र एकजोर कपडा फेर्न धौ–धौ हुन्छ।

गाउँघरमा स्वास्थ्य चौकी र जिल्ला अस्पताल बनेका छन् तर तिनले सिटामोल समेत दिन सक्दैनन्। उपचारको कुरा त छोडिदिए हुन्छ। डाक्टरको अनुहार देख्न मुस्किल हुन्छ। रोग लाग्यो भने भगवान् भरोसामा बाँच्नुपर्छ। उपचारका लागि काठमाडौं लगायत ठूला शहरमा जानुको विकल्प छैन त्यसैले पनि गाउँछोडेर हाल काठमाण्डौं बस्दै आउनु भएका मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ खैरेनीका इन्द्रप्रसाद तिमल्सीना बताउनुहुन्छ ।

मानिसहरूले उच्च शिक्षाको लागि शहर भरपर्दो विकल्प ठाने। नयाँ पुस्ताको गन्तव्य देश मात्र रहेन । विदेश पनि बन्यो। विदेश जान गाउँमा बसेर हुँदैन भन्दै बालबच्चा सहित अभिभावक शहर पसे। पस्दै छन्।

ग्रामीण क्षेत्रमा साधारण विषयका क्याम्पस नभएका होइनन् तर तिनीहरूले मानिसलाई रोक्न सकेनन्। गाउँमा ११ र १२ कक्षासम्म पनि पढाइ हुन्छ। तर ग्रामीण स्कुल र कलेजप्रति मानिसले भरोसा गरेनन्। हुलका हुल शहर छिरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*