फ्लप सिनेमाको बाढी : १० प्रतिशतले मात्रै उठाउँछन् लगानी

चलचित्र विकास बोर्डका अनुसार, १० प्रतिशत नेपाली फिल्मले मात्रै लगानी उठाउँछन् । यसको अर्थ लगानीकर्ताले वार्षिक केही अर्ब रुपैयाँ गुमाउँछन् । तर, यो फ्लप शृंखला रोक्ने दीर्घकालीन योजना तयार पार्न सरकार र चलचित्र क्षेत्रले अझै ध्यान दिएका छैनन् ।
जनपत्र
४ कार्तिक २०८०, शनिबार ०६:१४

मार्क्सेली अर्थशास्त्रीय मान्यता के हो भने संख्याले गुण दिनुपर्छ । संसारभर चलाइने विमर्शको यो सिद्धान्त कम्तीमा नेपाली फिल्मका लागि भने यतिबेला लागू छैन । ५८ वर्षे इतिहास बोकेको घरेलु फिल्मलाई संख्याले गुण दिइरहेको छैन ।

पछिल्लो दशकमा यो ‘एन्टिथेसिस’ नेपाली फिल्मको यथार्थ हो । बक्स अफिसको अंकगणित हेर्दा लाग्छ, हप्तैपिच्छे फिल्म ‘टाइटानिक’ जहाज जस्तै डुबिरहेका छन् । फिल्म डुबाइको यो शृंखला आउँदो कति समयसम्म लम्बिन्छ थाहा छैन तर, मौलिक दृश्यभाषा र बजार विस्तार गर्ने प्रयत्नमा चुनौती खडा भएको छ । कुल मिलाएर भन्दा यो एउटा ‘वेक अप कल’ हो ।

संख्याले गुण दिएको छैन भन्ने विमर्श बुझ्न एकैछिन घरेलु फिल्मको पछिल्लो परिस्थितिबारे चर्चा गरौं । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरण अनुसार, आर्थिक वर्ष २०७९र८० मा कुल ५७ नेपाली फिल्म रिलिज भए । जसमध्ये १० बाहेक अन्य फिल्मको कमाइ १ करोड रुपैयाँ पनि छैन । रिलिज भएकामध्ये १० प्रतिशतले मात्रै लगानी उठाए । बाँकी ४७ फिल्मको करोडौं लगानी डुब्यो ।

२०८० सालको सुरुआती ६ महिना अर्थात् वैशाखदेखि असोजसम्मको तथ्यांक अझै कहालीलाग्दो छ । यसबीच रिलिज भएका ३१ फिल्ममध्ये २ फिल्म मात्रै चले । १७ करोड १७ लाख रुपैयाँ ग्रस कमाउँदै ‘जारी’ ब्लकबस्टर बन्दा ‘नांगो गाउँ’ सुपरहिट बन्यो । बाँकी फिल्मको बक्स अफिस नियति दुर्दान्त रह्यो ।

यस वर्ष फिल्म सफलताको अनुपात विगतभन्दा अझै घटेको छ । के कुरा भुल्नुहुँदैन भने, हरेक शास्त्रको अध्ययनको केन्द्रविन्दु मान्छे हो र बक्स अफिसका यी निर्जीव अंक पछाडि सजीव दर्शकका चाहना, रुचि र स्वाद लुकेका छन् ।

हुनसक्छ यिनै कारण ‘कबड्डी ४’, ‘छक्कापञ्जा ४’ र ‘जारी’ घरेलु फिल्म इतिहासमै सर्वाधिक कमाउने फिल्म बने । तर, एकाध फिल्मको व्यावसायिक सफलताले समग्र घरेलु फिल्मको प्रतिनिधित्व गर्दैन । चार–पाँच फिल्म सफल हुँदा, करोडौं लगानीका बाँकी फिल्म असफल हुनुले हाम्रो ‘सिनेम्याटिक अपिलिङ’ मा ठूलै समस्या रहेको दर्शाउँछ । ‘छक्कापञ्जा ४’ ले १७ करोड ५२ लाख रुपैयाँ ग्रस र ‘जारी’ले १७ करोड १७ लाख रुपैयाँ ग्रस कमाउँदा ‘छड्के २’ ले २७ लाख रुपैयाँ ग्रस मात्र कमाउन सक्यो ।

३ करोडभन्दा बढी लगानी र अभिनेता अनमोल केसीलाई ५० लाख रुपैयाँ पारिश्रमिक दिएर बनाइएको उक्त फिल्म फ्लप हुँदा नेपाली फिल्म जगत स्तब्ध बन्यो । यो परिघटनाले स्टारमाथि लगानी गर्नु कति उचित भन्ने बहस निम्त्यायो । यो विन्दुबाट स्टारमाथि लगानी गर्न निर्माता हच्किएको देखिन्छ । चलचित्र विकास बोर्डका विवरणलाई नै विश्वास गर्ने हो भने गत वर्ष रिलिज भएको ‘शिवानी’ले जम्मा ५२० रुपैयाँ कमायो । घरेलु फिल्मको इतिहासकै न्यून कमाइ भन्दै यो ट्रोल पनि बन्यो ।

अर्कोतर्फ फिल्म प्राज्ञिक उत्पादन हो भन्ने ‘स्कुल अफ थट्’बाट बनाइएका ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’ जस्ता सुन्दर फिल्म नचल्नुले हाम्रो दर्शकीय चेतना र बजार टापु जस्तै अलग छन् भन्ने बुझ्न सकिन्छ । यी तथ्यले के संकेत गर्छन् भने– हामीकहाँ कहीं कतै समस्या छ ।

यसतर्फ संकेत गर्दै अभिनेता विपिन कार्कीले यस साता अनलाइनखबरसँग गहकिलो कुरा गरे । नेपाली फिल्म लक्षित उनको प्रश्न थियो– आँखा चिम्लिंदा हामीले चिनियाँ, कोरियन, इरानी र बलिउड फिल्मको इमेज देख्छौं तर, किन नेपाली फिल्मको देख्दैनौं १ अब आँखा चिम्लिंदा पनि नेपाली फिल्मको इमेज देखिनुपर्छ ।’

असोज दोस्रो सातादेखि ५८ वर्ष लागेको नेपाली फिल्म यतिबेला अभूतपूर्व संकटबाट गुज्रिएको छ भन्ने पुष्टि गर्न कार्कीको उक्त अभिव्यक्ति पर्याप्त छ । उनले भने जस्तो ‘सिनेम्याटिक पहिचान’को केन्द्रमा फिल्म फ्लप हुनुको कारण लुकेको छ ।

बोर्डले सार्वजनिक गरेको गत आर्थिक वर्षको उक्त तथ्यांकमा ‘कालो बादलमा चाँदीको घेरा’ पनि देखिन्छ । सोही आर्थिक वर्षमा रिलिज भएका ७८ विदेशी फिल्मको कुल कमाइ ७९ करोड ४३ लाख ग्रस छ । जबकि ५३ नेपाली फिल्मको कुल कमाइ ७६ करोड ७२ लाख ग्रस छ । जस अनुसार घरेलु फिल्मले विदेशी फिल्मको हाराहारीमा जुन कमाइ गरेको छ यसले निराशाबीच आशाको किरण प्रदान गर्छ ।

फ्लप शृंखला कहिलेसम्म ?

यो निकै जटिल प्रश्न हो । संसारभरका फिल्म निर्मातालाई हिट हुने सूत्र थाहा भएको भए परिस्थिति अर्कै हुन्थ्यो । त्यस अर्थमा फिल्म निर्माण एक भाग्यको खेल पनि हो । तर, मिहिनेत र सचेतनाले असफलतालाई धेरै हदसम्म रोक्न सकिन्छ । हलिउडका महान् स्टिभन स्पिलवर्ग र जेम्स क्यामरुन हुन् या भारतका एसएस राजामौली, यी तीनैको समान दृष्टिकोण के हो भने– ‘फिल्म कम्प्युटरबाट होइन, मनदेखि बन्छ ।’

जब बलिउड कोभिड संकटपछि अधोगतिमा लाग्यो, तब शाहरूख खानले एकपछि अर्को हिट फिल्म दिएर हिन्दी फिल्मलाई उद्धार गरे । पठान, जवान र सन्नी देओलको गदर–२ ले बलिउडलाई नयाँ उचाइमा लगे ।

त्यसैगरी जब, हलिउड पनि कोभिडपछि ठूलो संकटमा फस्यो, तब टम क्रुजले ‘टपगन माभेरिक’बाट अमेरिकी फिल्म उद्योगलाई पुनर्जीवन दिए । यहाँ हलिउड र बलिउडको उदाहरण किन दिइएको हो भने, यी फिल्मको केन्द्रमा दर्शकीय रुचि जोडिएको थियो । जबसम्म घरेलु दर्शकलाई आकर्षित गर्न सकिंदैन तब फिल्म हिट हुँदैन भन्ने नजिर यी फिल्मले खडा गरिदिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*