नेपालले आज अभ्यास खेलमा नेदरल्याण्डसको सामना गर्दै
दक्षिण अफ्रिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज नेदरल्याण्डसविरुद्धको अभ्यास खेल खेल्दै छ ।
पहिलो अभ्यास खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको नेपाली टिमले आज दोस्रो अभ्यास खेलमा नेदरल्याण्डसको सामना गर्न लागेको हो ।
नेपाली टिमका प्रशिक्षक मोन्टी देसाई पनि भिसा समस्या समाधान भएपछि अहिले दक्षिण अफ्रीका टिमसँग पुगिसकेका छन् ।
नेपाल विश्वकप छनोटअघि अभ्यासका लागि दक्षिण अफ्रिका पुगेको हो ।
नेपाल आगामी आइतबार जिम्बावे जानेछ । जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका रहेको छ ।
विश्वकप क्वालिफायर प्रतियोगिता १८ जुनदेखि ९ जुलाईसम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।






