बागमती प्रदेशसभामा सांसदको प्रश्नः व्यापारीको कालो धन किन सेतो बनाउन खोजियो ?

जनपत्र
९ जेष्ठ २०८०, मंगलवार १८:३३

हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश सभा सचेतक मधुसुदन पौडेलले प्रदेश सरकारको ध्यान जनताको काम गर्ने तर्फ नभई व्यापारीको कालो धन सेतो बनाउने तर्फ गएको बताएका छन् ।

आज बाट सुरु भएको बर्खे अघिवेशनमा बोल्दै सांसद पौडेलले प्रदेश सरकारले ल्याएको चिठ्ठा विधेयकले व्यापारीहरुको कालो धनलाई सेतो बनाउने दाबी गरे । उनले प्रदेशका जनता डढेलो चपेटामा परिरहेको बेला प्रदेश सरकार भने चिठ्ठा विधेयक ल्याएर व्यापारीको हितमा अघि बढ्न खोजेको टिप्पणी गरे ।

उनले सरकारको ध्यान जनताका दैनिक जीवन सुधार गर्ने तर्फ हुनुपर्नेमा प्यापरीको स्वार्थ पूरा गर्ने तर्फ गएको उल्लेख गरे । उनले उक्त चिठ्ठा विधेयक (प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्वन्धमा व्यावस्था गर्न बनेको विधेयक) लाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले फिर्ता गरिएको भन्दै प्रदेश प्रमुखलाई धन्यवाद व्यक्त गरे ।

प्रदेश प्रमुख शर्माले पुर्नविचारको लागि भन्दै उक्त विधेयक फिर्ता पठाइदिएका थिए । बागमती प्रदेशसभा स्थापना भएता पहिलो पटक प्रदेश सभाले पारित गरेको विधेयकलाई प्रदेश प्रमुखले फिर्ता गरिदिएका हुन् ।

यसैगरी, बागमती प्रदेश सभाको आज बसेको दोस्रो कार्यकालको १२ औं बैठकमा विनियोजन विधेयक २०८० को सिद्दान्त र प्राथमिकताको सम्बन्धमा प्रतिवेदन प्रस्तुत भएको छ ।

बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङ्ले प्रदेश सरकारको तर्फबाट प्रस्तुत हुने उक्त विधेयक प्रतिवेदन प्रस्तुत गरेका हुन् । उक्त प्रतिवेदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रदेशभित्र गुणस्तरीय स्वास्थ्य सेवाको प्रवाह साथै शिक्षालाई दक्ष उत्पादनमुलक बनाउने र रोजगारीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने उद्देश्य रहेको उनले जानकारी दिए ।

उनले प्रदेशका विपन्न नागरिकहरुलाई आर्थिक आयआर्जनतर्फ कृषि उद्यमी र उत्पादनको लागि प्याकेज कार्यक्रम सञ्चालन गर्ने र साना उद्यमीहरुलाई उद्योग सञ्चालनको लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेतर्फ जोड दिए ।

साथै प्रदेशमा बाढीपहिरोबाट प्रभावित नागरिकहरुलाई तत्काल उद्धार गरी राहत वितरण गर्ने कार्यलाई प्रदेश सरकारले सम्बन्धित जिल्ला प्रशासनमार्फत् समन्वय गरेर उद्दार कार्यलाई तीव्रता दिने नीति तर्जूमा गरेको स्पष्ट पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*