मकवानपुरका कांग्रेस नेताहरूले गृहमन्त्रीलाई भेटेर भने- ‘खुट्टा नकमाउनु होला’

जनपत्र
१ जेष्ठ २०८०, सोमबार ०६:४२

मकावनपुर । मकवानपुरका कांग्रेस नेताहरुले आइतबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन आग्रह गरेका छन् ।

मकावनपुर जिल्ला कार्यसमितिका पूर्व सभापति रघुरमण न्यौपाने, जिल्ला कार्यसमितिका उपसभापति धर्मराज लामिछाने, महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, राजु पौडेललगायतका कांग्रेसी नेताहरुले ठुला नेता तानिने भयबाट नक्कली शरणार्थी प्रकरणलाई सामुसुम पार्न नहुने बताएका थिए ।

‘यो प्रकरणमा हामी तपाईंको कार्यकर्ता बनेर उभिएका छौं । तपाईंबाट जुन साहसको काम भएको छ । त्यसमा हामी प्रशंसा गर्छौं । यो प्रकरणमा जस्तोसुकै शक्तिशाली र माथिको नेता परेपनि खुट्टा नकमाउनु होला’ गृहमन्त्रीसँग उनीहरुको भनाई थियो,‘देशभरका जनता अहिले तपाईंको पक्षमा उभिएका छन् । तपाईंले खुट्टा कमाउनु भयो भने तीनै जनता तपाईंको बिरोधमा पनि उत्रन सक्छन् ।’

प्रमुख तीन दलका शीर्ष नेताको बारम्बारको बैठकले आशंका जन्माएको बिषय पनि आफूहरुले गृहमन्त्रीसँग राखेको न्यौपानेले बताए । यो प्रकरण सतहमा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच बारम्बार बैठक चलिरहेको छ ।

‘तीन शीर्ष नेताको बैठकले यो प्रकरणलाई कतै सामसुम पार्न खोजिएको त होइन भन्ने बाहिर आम आशंका छ, यसलाई चिरेर अघि बढ्नुनै राम्रो हुन्छ भन्ने सुझाव हामीले दिएका छौं’ उनले भने,‘गृहमन्त्रीलेपनि कुनै हालतमा पनि खुट्टा नकमाउने कुरा बताउनु भएको छ ।’

‘प्रमाणनै केही भेटिएन भने मेरो केही लाग्दैन, तर यस प्रकरणसँग नाम जोडिएकाहरुलाई मैले कुनैपनि हालतमा छाड्ने छैन’ गृहमन्त्रीको भनाई उत्धृत गर्दै कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिका उपसभापति लामिछानेले भने,‘गृहमन्त्री उत्साहीनै देखिनु भएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*