बागमती सरकार ३६ दिनदेखि अपूर्ण, कांग्रेस जवाफदेहिताबाट भाग्दै

जनपत्र
१७ बैशाख २०८०, आईतवार ०७:२०

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण प्रदेश सरकार ३६ दिनदेखि अपूर्ण छ । कमजोर बजेट खर्चको स्थितिले ६ वर्षीय प्रदेश सरकारको इतिहासमा सबैभन्दा नाजुक रेकर्ड बन्ने अवस्था र नयाँ बजेटको तयारी गर्नुपर्ने बेला सरकार विस्तार अनिश्चित बनिरहेको हो । सरकारले पूर्णता नपाउनुमा कांग्रेसभित्रको कलहलाई प्रमुख समस्याको रूपमा गठबन्धन दलकै सांसदहरूले लिएका छन् । कांग्रेसले गठबन्धनमा भागबन्डा लागेअनुसार मन्त्रीहरूका नाम नदिँदा पाँचवटा मन्त्रालय मन्त्रीविहीन बनेका छन् ।

सत्ता समीकरणमा फेरबदल आएसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत लिएको ३६ दिन कटिसकेको छ । निर्वाचनकै बेलाको गठबन्धन ब्युँतिएपछि १० चैतमा विश्वासको मत लिएर सरकारमै टिकिराखेका जम्मकट्टेलले एक महिनाबढी भइसक्दा पनि सरकारलाई पूर्णता दिन नसकेका हुन् । मन्त्रिपरिषद् अपूर्ण हुनुमा जम्मकट्टेलको भन्दा पनि कांग्रेस मुख्य कारण बनेको पछिल्ला राजनीतिक घटनाक्रमले देखाएको छ ।

सरकारमा जाने मन्त्रीहरूको टुङ्गो कांग्रेसले लगाउन नसक्दा सरकारले पूर्णता पाउन नसकेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले बताए । श्रेष्ठले कांग्रेसले मन्त्रीहरूको नाम दिएको एक घण्टामा मन्त्रिपरिषद् विस्तार गर्न तयार रहेको बताए । ‘सरकार विस्तार हामीबाट रोकिएकै हैन । तपाईंहरूले बुझिरहनु भएकै छ । कांग्रेसले मन्त्रीहरूको नाम पठाएको १ घण्टामा हामी मन्त्रिपरिषद्‌मा लैजान्छौँ’, उनले भने ।

नयाँ बजेट बनाउनुपर्ने र कमजोर विकास खर्चलाई उकास्नुपर्ने समयमा सरकारलाई अनिश्चित बनाउँदै आइरहेको गठबन्धनकै ठूलो दल कांग्रेस भने जवाफदेहिताबाट भाग्दै आइरहेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा पत्रकारहरूसँग तर्किएर हिँडिरहेका छन् । प्रश्नको घेराबाट पन्छिँदै हिँडिरहेका लामाकाे फाेन उठ्दैन । कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकार विस्तारमा पार्टीको भूमिकाबारे लामासँग कुरा गर्न आग्रह गरे । ‘मलाई केही थाहा छैन । पार्टीको कुरा लामाजीसँग सोध्नुहोला’, चित्रकारले भने । कांग्रेस बागमती प्रदेशका सचेतक कुन्दनराज काफ्लेको फोन केही दिनदेखि बन्द छ ।

पार्टीको जिम्मेवार पदमै रहेका दलका नेतादेखि सचेतकसम्म जवाफदेहिताबाट भागिरहेपछि कांग्रेसका सांसदहरू पनि बोल्न चाहिरहेका छैनन् । कांग्रेसभित्र सरकारमा सहभागी हुने विषयलाई लिएर चर्को विवाद निम्तिएको छ । गठबन्धन दलबीच मन्त्रालय भागबन्डा लागेको भन्दा बढी कांग्रेसबाट मन्त्रीको आकांक्षी देखिएपछि लामाले विवाद समाधान गर्न नसकेको कांग्रेसका सांसदहरूको आरोप छ । नेता लामाले विवाद मिलाउन नसकेपछि सांसद तीर्थ लामालाई लिएर सरकारमा सहभागी भइसकेका छन् । आकांक्षीहरूको टुङ्गो नलगाई लामाद्वय झण्डावाल गाडीमा हुइँकिन थालेपछि थप विवाद सिर्जना भएको छ ।

हाल सरकारमा कांग्रेसबाट लामाद्वय मात्रै छन् । पार्टीभित्र आकांक्षीहरूको व्यवस्थापन गर्न नसकेपछि उनै लामा २६ चैतमा सरकारको अर्थमन्त्री बनिसके । उनले तीर्थ लामालाई पनि आफूसँगै खानेपानी, ऊर्जा र सिँचाइमन्त्री बनाएका हुन् । ६ वटा मन्त्रालयमा गठबन्धनमा सहमति पनि हुन नसक्नु र पार्टीभित्रकै विवाद मिलाउन नसक्दा लामालाई चुनौती थपिएको छ । मुख्यमन्त्री जम्मकट्टेल कांग्रेसलाई कुर्दै बसेका छन् । गठबन्धनको ठूलो दल कांग्रेसले ६ वटा मन्त्रालयमा अडान राख्दै आएको थियो । कांग्रेसको अडानमा मुख्यमन्त्री सकारात्मक नभएपछि भागबन्डा पनि टुङ्गिन सकेको छैन ।

भागबन्डा नटुगिँदा गठबन्धनकै नेकपा एकीकृत समाजवादी पनि सरकारमा गएको छैन । नेकपा एसका नेता निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मासमेत सरकारसँग सन्तुष्ट छैनन् । ११ सदस्यीय मन्त्रिपरिषद्‌मा ६ जना मात्रै मन्त्रीहरू छन् । जसमध्ये मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय माओवादीका र दुईवटा मन्त्रालय नेपाली कांग्रेसले सम्हाल्दै आइरहेको छ । बाँकी पाँचवटा मन्त्रालयमा भागबन्डा नमिल्दा सरकार विस्तार अनिश्चित बन्दै गइरहेको हो ।

केन्द्रको राजनीतिक सत्ता गठबन्धनअनुसार बागमतीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी गरी तीन दलको नेतृत्वको सरकार छ । अघिल्लो गठबन्धनमा पनि राप्रपा, एमाले र माओवादी मिलेर सरकार बनाउँदा त्यति चुनौती खेप्न नपरेका मुख्यमन्त्रीलाई कांग्रेस नेतृत्वको गठबन्धनले भने सकसमा पारेको छ । गठबन्धन सरकारमा मन्त्रिपरिषद् विस्तार गर्न जोसुकै सरकार प्रमुखलाई पनि समस्या देखिने गर्छ । बागमतीका निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गठबन्धनमा भागबन्डा मिलाउन आठवटा मन्त्रालयलाई १४ वटासम्म बनाएका थिए । तर, जम्मकट्टेलले ११ वटा मन्त्रालय बनाए ।

बागमतीमा हाल स्वास्थ्य मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय रिक्त छ । जसमा कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त हुनेछन् । बागमती प्रदेशसभामा कुल सातवटा दलको प्रतिनिधित्व छ । प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ मत छ । शिलापत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*