हेटौंडामा एमालेको प्रशिक्षणः नेता बनाउने भन्दा पनि समाज बदल्ने अभियानमा लागौ–महासचिब पोख्रेल

जनपत्र
२ बैशाख २०८०, शनिबार १५:४७

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिब शंकर पोख्रेलले अब नेता बनाउने भन्दा पनि आफ्ना समाज बदल्ने अभियानमा लाग्नका लागि कार्यकर्तालाई निर्देशन दिनु भएको छ । एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको आयोजनामा भएको प्रशिक्षण मुलक बृहत कार्यकर्ता भेलालाई संबोधन गर्दै उहाँले अब पार्टीले कसैलाई नेता भनाइदिने भन्दा पनि समाज बदल्न लाग्ने बताउनुभयो ।

चुनाबका बेलामा आफ्नै उम्मेदवारलाई पनि भोट नहाल्ने समस्या बढेको बताउँदै उहाँले भन्नुभयो–‘अरु बेलामा सधै एमाले बनिरहने र चुनाबमा भोट हाल्ने बेलामा अरु कसैको हुने चलनको अब सधैका लागि अन्त्य हुनुपर्छ ।’ पार्टीमा रहेर जसले काम गर्न सक्छ उसैलाई जिम्मा दिनुपर्ने उहाँले बताउनुभयो ।

पार्टीको मिसन ग्रासरुट अभियानको शिक्षाले अब वडा देखि केन्द्र सम्म पार्टी चल्ने बताउनुभयो । मुलुकमा सबै भन्दा धेरै संगठित सदस्य रहेको पार्टीमा चुनाबका बेला बहुमत ल्याउन नसक्नु दुखद रहेको बताउनुभयो । अहिले यो अभियान सुरु गर्नु भनेको नेताहरुलाई कार्यकर्ता माझ पुर्याउनका लागि दुइ महिने अभियान चलाइएको बताउनुभये ।

कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य पार्बत गुरुङ र नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले हेटौंडा र मकवानपुर जिल्लामा भएको ग्रासरुट अभियानका बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृष्ण प्रसाद दाहाल, जुनेली श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटीका उपसचिब तथा एमाले सचेतक महेश कुमार बर्तौला लगायतका प्रदेश र जिल्लाका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*