बागमती प्रदेशः कांग्रेस र नेकपा एसबाट तीन जना मन्त्री आजै थप्ने तयारीमा मुख्यमन्त्री जम्मकट्टेल
हेटौंडा । बागमती प्रदेशमा आज दिउसो १ बजे प्रदेशसभाको बैठकबाट बिश्वासको मत प्राप्त भएपछी भ्याए सम्म आजै तीन जना मन्त्रीहरुलाई थप्ने तयारीमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल रहनु भएको छ । नेपाली कांग्रेस, नेकपा एकिकृत समाजबादीका गरी तीन जना मन्त्री बनाउने तयारी समेत रहेको उहाँले वताउनुभयो ।
कांग्रेस र नेकपा एसले मन्त्री बन्नेहरुको नाम दिएमा आजै साँझ सम्म भनेपनि तीन जना मन्त्रीहरु नियुक्त गरेर कामलाई तिब्रता दिने तयारी उहाँको हो । तर, नेपाली कांग्रेस र नेकपा एसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रतिबद्धता जनाएपनि मन्त्री बनाउनेहरुको नामावली भने दिइसकेका छैनन् । मन्त्री बन्नेहरुको नाम आजै प्राप्त भएमा नियुक्त गरेर सपथ पनि आजै खुवाउने मुख्यमन्त्री जम्मकट्टेलले वताउनुभयो । मन्त्रीहरुको सपथ आजै हुनसक्ने भएकाले त्यसको अनौपचारिक जानकारी पनि प्रदेशसभा सचिवालयलाई गराइएको छ ।
प्रदेशसभामा विश्वासको मत दिने र दुइ दलले पठाएका मन्त्रीहरुलाई नियुक्ती दिने त्यसपछी प्रदेशप्रमुखको कार्यालयमा सपथ खुवाउनेगरी तयारी गरिएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामाले मन्त्री बन्नेहरुको नाम बताउन चाहनु भएन । कांग्रेसले अर्थ मन्त्रालय सहितका अरु मन्त्रालय पाउने छ । एमालेले प्राप्त गरेका अधिकांस मन्त्रालय कांग्रेसले लिने श्रोतले वताएको छ । एमालेले लिएको भन्दा थप एक मन्त्रालय पनि कांग्रेसले लिने र नेकपा एसले दुइ वटा मात्रै मन्त्रालय पाउने संभावना रहेको छ । नेकपा माओवादी केन्द्रले आफुले अहिले सम्हाल्दै आएका मन्त्रालय र मन्त्रीहरु परिवर्तन गरिहाल्ने मनस्थीतीमा छैन ।






