बागमतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने, प्रदेशसभा बैठक १० गतेका लागि सारियो

जनपत्र
८ चैत्र २०७९, बुधबार १७:०५

हेटौंडा । नेपाली कांग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री जम्कट्टेलले बुधबार विश्वासको मत लिने तयारी गरेका थिए । तर कांग्रेसले निर्णय गर्न ढिला गरेका कारण बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । बुधबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए ।

गठबन्धनमा भएका सबै दलहरु मिलेर जाने सहमति छ । त्यहीअनुसार हामीले अहिले मुख्यमन्त्रीजीलाई विश्वासको मत दिन्छौं, उनले भने, ुतर मुख्यमन्त्रीमा हाम्रो पनि दाबी रहन्छ । सत्ता गठबन्धनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि दलहरुबीच शक्ति बाँडफाँटको विषय टुंगिएको छैन । मुख्यमन्त्री पाँचै वर्ष माओवादीले नै पाउने वा पहिले कांग्रेसले पाउने भन्ने विषयमा नेताहरुबीच विवाद हुँदा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्न ढिला गरेको हो ।

वाग्मतीमा राप्रपाले सरकार छाडेपछि संविधानको व्यवस्थाअनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्नेछ । कांग्रेस नेता काफ्लेले भने बुधबारको बैठक स्थगित भएको र अर्को बैठकमा विश्वासको मत दिइने बताए । उनकाअनुसार अर्को बैठक शुक्रबारका लागि बोलाउने तयारी छ ।

बागमती प्रदेशसभाको बैठक चैत १० गते बस्ने गरी सारिएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि १० गते बस्ने गरी सारिएको हो । बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले अब प्रदेशसभाको बैठक चैत १० गते दिउँसो १ बजे बस्ने जनाए । आजै मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबिच भएको छलफलपछि प्रदेशसभा बैठक सार्ने निर्णय भएको उनले जानकारी दिए ।

आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो । तर आफूहरुसँग सल्लाह नगरी विश्वासको मतसम्बन्धी प्रस्तावबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित हुन नसक्ने जनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*