ओलीको रेल सपना : आन्तरिक गृहकार्यको कमी
रेलमा चढी सरर नेपालका विभिन्न स्थानमा पुग्ने नेपालीको सपना अझै पनि वास्तविकतामा पुरा हुन सकेको छैन । हरेक सरकार र नेताहरुले मुख्य प्राथमिकताको नारामा पर्ने रेल मार्ग सञ्चालनको कामले भने खासै गति सकेको छैन । रेलमार्ग मार्फत नेपालका सबै ठाउँ जोड्ने दाबी वर्तमान सरकारले पनि गर्दै आएको छ । तर सरकारका प्रतिवद्धता अनुसारको काम भने भएको पाईदैन ।
रेल सञ्जालमार्फत नेपालका सबै स्थान एक अर्कामा जोड्ने परिकल्पना सहित तत्कालिन सरकारले नेपालमा २०६८ सालमा रेल विभाग स्थापना गरेको थियो । २० वर्षिय योजना बोकी रेल मार्ग सञ्चालनका लागि पुर्वाधार तयारमा तम्सिएको रेल विभागले १० वर्षमा १ हजार ५ सय किलोमिटर दुरीमा रेल कुदाईसक्ने लक्ष्य राखेको थियो ।
त्यसपछिका १० वर्षमा २ हजार ५ सय किलो मिटर दुरीमा रेल कुदाईसक्ने लक्ष्य लिएको थियो । तर विभाग स्थापना भएको ८ वर्ष वितिसक्दा पनि १ हजार ५ सय किलोमिटर रेलमार्ग तयार हुनु त परको कुरा रेल सञ्चालन नै हुन सकेको छैन ।
१० वर्ष मध्ये ८ वर्षमा सरकारले कुनैपनि रेलमार्ग तयार गर्न नसक्नुका पछाडी राजनीतिक दाउपेच नै हो । यसका साथै आन्तरिक गृहकार्य नै नपुगेको पूर्वाधारविद् डाक्टर सूर्यराज आचार्य बताउँछन् ।