नेविसंघ मकवानपुरमा दुई अध्यक्ष, शेर्पालाई बर्खास्त गर्न पार्टी सभापतिलाई पत्र

जनपत्र
२५ फाल्गुन २०७९, बिहीबार १३:५६

हेटौंडा । लामो समयको पर्खाइपछि ५ चैतमा हुन लागेको स्ववियु निर्वाचनको मुखमै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरमा आन्तरिक कलह मच्चिएको छ ।

स्ववियु निर्वाचनमा खटिनुपर्ने नेविसंघका विद्यार्थीहरूलाई संगठनभित्रको आन्तरिक किचलोले थिचेको हो । नेविसंघ मकवानपुरमा दुई अध्यक्ष रहेका छन् । करिब एक महिनाअघि पार्टी जिल्ला समितिले सुवास सापकोटालाई अध्यक्ष बनाएको थियो । नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ मकवानपुरमा अध्यक्ष भिषण ठकुरी रहेको पत्र थमाइदिए ।

सापकोटाको नेतृत्वमा रहेको संघमा पूर्ण समिति छ भने ठकुरी एक्लै अध्यक्ष छन् । तर, दुवै अध्यक्षले आफू आधिकारिक रहेको दाबी गरिरहेका छन् । एक महिना अघि हेटौँडा–२, स्थित पार्टी कार्यालयमा सीमित विद्यार्थीहरू बसेर सापकोटालाई अध्यक्ष चुनिएको थियो ।

नेविसंघको नयाँ कार्यसमिति गठन गर्दा केन्द्रीय समितिलाई जानकारी नै नदिएको र विधानत: केन्द्रीय प्रतिनिधि उपस्थित हुनुपर्ने विषय विवादित बनेपछि शेर्पाले ठकुरीलाई अध्यक्ष बनाएको पत्र थमाएको चर्चा छ । शेर्पाले १९ फागुनमा ३ महिनाभित्र अधिवेशन गर्ने गरी भिषण ठकुरीलाई अध्यक्ष बनाएका थिए । उनले कांग्रेस जिल्ला समितिलाई बोधार्थ दिँदै नेविसंघ मकवानपुरमा अध्यक्ष पद रिक्त रहेको र ३२ वर्ष उमेर हद म्याद आकर्षित भएको भन्दै ठकुरीलाई अध्यक्षको जिम्मेवारी दिएका थिए ।

नेविसंघ मकवानपुरभित्र विवाद चर्किँदै गएपछि २४ फागुनमा शेर्पाले पुनः पत्र पठाउँदै ठकुरी नेतृत्वको कार्यसमिति नै आधिकारिक रहेको र उक्त समितिलाई संगठन विस्तार र स्ववियु निर्वाचनमा गतिविधि गर्न अधिकार दिइएको भन्दै सापकोटा नेतृत्वको समिति अस्तित्वमै नभएको भनेपछि हंगामा मच्चिएको छ ।

स्ववियु निर्वाचनको संघारमा नेपाली कांग्रेसनिकट नेविसंघ मकवानपुरमा दुई धार बनेपछि विद्यार्थीहरू अन्योलमा परेका छन् । नेविसंघभित्रको विवादले पार्टी जिल्ला समिति र संघ केन्द्रीय समितिबीच संघर्ष सुरु भएको छ । कांग्रेस मकवानपुरले नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गर्दै पत्र लेखेको छ । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गरेका हुन् ।

सभापति देउवालाई पठाएको पत्रमा कांग्रेस मकवानपुरले सर्वसम्मत सिफारिस गरेको नेविसंघ मकवानपुरका अध्यक्ष सुवास सापकोटालाई बर्खिलाप गरी स्ववियु चुनावमा नेविसंघलाई असफल बनाउने भूमिका साथ मकवानपुरमा नेविसंघ साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई अध्यक्ष बनाइएको भन्दै त्यसतर्फ कांग्रेस मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

नेविसंघ मकवानपुरले सभापति अध्यक्ष सापकोटाको नेतृत्वमा स्ववियु निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको र पार्टीका तर्फबाट सहसचिव इन्दिरा न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय स्ववियु परिचालन समितिसमेत गठन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

‘कांग्रेस मकवानपुरले सर्वसम्मत सिफारिस गरेको नेविसंघ मकवानपुरका अध्यक्ष सुवास सापकोटा नै आधिकारिक अध्यक्ष रहेको र नेविसंघ मकवानपुरलाई कमजोर बनाउने भूमिकामा लागेका केन्द्रीय अध्यक्ष शेर्पालाई तत्काल बर्खास्त गर्न अनुरोध छ,’ पार्टी सभापति लामाको पत्रमा भनिएको छ । शिलापत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*