मकवानपुरबासीको पीडाः परेवा भीरमा ज्यान जोखिममा राखी पैदल यात्रा गर्नुपर्ने बाध्यता

हेटौँडा, मकवानपुरको उत्तर पश्चिम क्षेत्रका दुर्गम बस्तीमा बसोबास गर्ने बासिन्दाहरु बर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । प्रशासनिक काम तथा दैनिक उपभोग्य सामग्रीहरुको खरिदका लागि पैदल हिँडेर गाउँपालिका केन्द्र र मनहरी बजार पुग्न उनीहरुलाई समस्या भएको छ । राक्सिराङ र कैलाश गाउँपालिकाका केही वडाका बासिन्दाहरु बर्षायाममा ज्यान जोखिममा राखी यात्रा गर्न बाध्य भइरहेको छ ।
हिउँद महिनाभर मनहरी खोलाको बगरमा निर्माण हुने अस्थायी सडकमा सञ्चालन हुने बस सेवामा यात्रा गरेका उनीहरुको जीवन बर्षा लाग्नासाथ कष्टकर हुन थाल्छ । राक्सिराङ गाउँपालिका वडा नं ४ देविटार, पन्जनी, मन्छाप तथा वडा नं ९ को खैराङ, कात्तिके, कैलाश गाउँपालिकाको वडा नं ७ को ताम्लाङ, डोकोटार, वडा नं ८ को भार्ता लगायत गाउँहरुमा रहेका दर्जनौ बस्तीमा मानिसहरुका लागि बर्षायाममा पैदल हिँड्ने गतिलो बाटो समेत छैन । खोलाका किनारमा पन्चायतकालमै निर्माण भएको पैदलमार्ग हिँड्दा राक्सिराङ गाउँपालिका वडा नं ५ स्थित पन्जनी भीरमा कष्टकर यात्रा गर्नुपरेको स्थानीय शिक्षक दिनेश ब्लोन बताउनुहुन्छ ।
पहाडैपहाडको परेवा भीर र त्यसमुनि उर्लिरहेको मनहरी खोलाको बीचबाट स्थानीयबासिन्दाहरुले यात्रा गर्नुपर्ने अबस्था रहेको उहाँले सुनाउनुभयो । ‘गाउँमा मान्छे बिरामी हुँदा डोकोमा बोकेर ल्याउन सकिने अबस्था पनि छैन ।’, ब्लोन भन्नुहुन्छ । यो बाटो भएर अहिले पनि दैनिक पाँचसयभन्दा बढी मानिसहरु आवत जावत गर्नेरेको उहाँले जानकारी दिनुभयो । ‘महिला तथा बालबालिकाहरु त यो बाटो हिँड्नै सक्दैनन्’, ब्लोन भन्नुहुन्छ–‘लक्का जवान मानिसहरु समूह बनाएर मनहरी बजारसम्म आउने जाने गरेका छौँ ।’
राजनीतिक व्यवस्था परिवर्तनसँगै नयाँ संरचनामा देशले गति लिएपनि गाउँलेले अझै सडक सुविधा नपाएको राक्सिराङ गाउँपालिकाका युवा नेता बनस्तम थिङ बताउनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य समेत रहेका थिङले जनताका यस्तै समस्या समाधानका लागि जनस्तरबाट माग गरिएपनि सुनुवाई हुन नसकेको भन्दै यसबारे केन्द्र, स्थानीय र प्रदेश सरकारलाई ध्यानाकर्षण गराइएको सुनाउनुभयो ।
मनहरीबाट राक्सिराङ हुँदै डाँडाबास पुग्ने सडक खण्डलाई नै सुधार गरेर मलेखु पुग्ने गरी विकास गर्ने योजना अघि बढाइएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । उहाँले मनहरीबाट पेङ्चे सडक हुँदै राक्सिराङ गाउँपालिका वडा नं ५ को बमकिम हुँदै मन्छाप पुग्ने गरी गाउँपालिकाले बिस्तृत परियोजना प्रतिवेदन तयार पारेको बताउनुभयो ।
तर, उक्त खण्डभित्र परेवाभीरको खण्ड नपर्ने भएपछि पुनः यसबर्ष राक्सिराङ वडा नं ४ को परेवाभीर हुँदै रतुवासम्म पुग्ने गरी सडक निर्माणलाई ध्यान दिने गरी १ करोड बजेट छुट्याइएको मल्लले बताउनुभयो । ‘परेवाभीर खण्डमा बर्षायाममा मानिसहरु सँधै जीवन जोखिममा राखेर हिँड्न बाध्य छन्’, अध्यक्ष मल्ल भन्नुहुन्छ–‘म आफै पनि दर्जनौँपटक त्यसैगरी हिँडेको छु ।’ चालू आर्थिक बर्षमै काम सुरु हुने भएपछि अर्काे बर्षायाममा यात्रुहरुले त्यस्तो समस्या भोग्न नपर्ने गरी काम गरिने मल्लले जानकारी दिनुभयो । मकवानपुरबाट शिव कुमार कासीले आजको द राइजिंग नेपालको लागि लेख्नुभएको समाचार हामिले प्रकासित गरेका हौं ।