नेप्से अस्थिर हुँदा पुँजीगत लाभकर ८४ प्रतिशतले घट्यो

जनपत्र
५ माघ २०७९, बिहीबार ०७:२२

सेयर बजारमा आएको उत्तारचढावले चालू आवको पुस मसान्तसम्म पुँजीगत लाभकर ८५ प्रतिशतले घटेको छ । चालू आव ६ महिनामा एक अर्ब २३ करोड ५७ लाख संकलन भएको छ । तर, अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत लाभकर आठ अर्ब ६ करोड ८७ लाख संकलन भएको थियो ।

अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्म अल्पकालीन लगानीकर्ताले मात्रै पाँच अर्ब ८४ करोड १८ लाख पुँजीगत लाभकर तिरेका थिए । चालू आर्थिक वर्षको ६ महिना अल्पकालीन लगानीकर्ताले सेयर कारोबार गरेर ७४ करोड ४१ लाख ५३ हजार पुँजीगत लाभकर तिरेका छन् । यस्तै, दीर्घकालीन लगानीकर्ताले ४९ करोड १५ लाख ५८ हजार लाभकर तिरेका छन् । अघिल्लो आर्थिक वर्षको पुस मसान्तमा दीर्घकालीन लगानीकर्ताले भने दुई अर्ब २२ करोड ६९ लाख पुँजीगत लाभकर तिरेका थिए ।

लामो समयदेखि सेयर बजार घट्दा पुँजीगत लाभकरसमेत प्रभाव परेको हो । चालू आवको साउनमा नेप्से परिसूचक दुई हजार २९ दशमलव ४३ बिन्दुमा रहेको थियो भने पुस मसान्तसम्म दुई हजार एक सय ४९ दशमलव ३९ बिन्दुमा आइपुगेको थियो ।

यसबीचमा नेप्सेले एक सय १९ दशमलव ९६ अंक गुमाएको भए पनि बीचमा परिसूचक एक हजार आठ सय १५ दशमलवसम्म आइपुगेर उकालो लागेको थियो । सेयर अस्थिर रहँदा लगानीकर्ताले नाफा आर्जन गर्न सकेनन् । जसले गर्दा पुँजीगत लाभकर घट्न पुगेको हो । साउनदेखियता मात्रै कारोबार रकम ११ महिनापछिकै ठूलो रकममा कारोबार भएको थियो । अहिले दीर्घकालीन कारोबारीले ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले ७ दशमलव ५ प्रतिशत पुँजीगत लाभकर तिर्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*