हेटौंडाका युवाहरुलाई सीपमूलक तालीम एवम् उद्यमशील बनाइदै

हेटौंडा । हेटौंडा नगरभित्रका युवाहरुलाई चालु आर्थिक वर्षमा आत्म निर्भर वनाउन कार्यक्रम ल्याउने तयारी गरेको छ । युवालाई सीपमूलक तालीम एवम् उद्यमशीलतामार्फत दक्ष र आत्मनिर्भर बनाउन चालु आर्थिक वर्षबाट मेयर नमूना युवा वडा कार्यक्रम संचालन गरिने तयारी गरिएको छ । नगरका युवाहरुलाई स्वरोजगार बनाउन यो कार्यक्रम ल्याइएको हो ।
नगरबाट सामाजिक सुरक्षा भत्ता रकम बैंकिङ्ग प्रणाली मार्फत सबै वडाहरुमा वितरण गर्ने व्यवस्था मिलाइने योजना बनाइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । जेष्ठ नागरिकको जीवनयापन सहज बनाउनका निमित्त एकीकृत जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गरिने मेयर महतले बताउनुभयो ।
युवा तथा बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासका लागि उपमहानगरपालिकाले विभिन्न खेलकुद क्रियाकलाप सञ्चालन गर्न हेटौडा–८ को चन्द्रोदय माविको चौरमा प्रदेश सरकारसँगको सहकार्यमा अगामी आर्थिक वर्षभित्रै प्याराफिटसहितको खेलकुद प्रशिक्षण केन्द्रको निर्माण कार्य प्रारम्भ गरिने बताइएको छ ।
निःशुल्क रुपमा डायलोसिस सेवा उपलब्ध गराउने
मृगौलाका विरामीहरुका लागि निःशुल्क रुपमा डायलोसिस सेवा उपलब्ध गराउन हेटौडा अस्पतालमा अन्य निकायहरुको सहयोग एवम् समन्वमा आवश्यक उपकरणहरुको प्रबन्ध गरिने जनाइएको छ । मृगौला पीडित बिरामीहरु अझैपनि डायलासिस गर्नका लागि काठमाण्डौ, बिरगन्ज, भरतपुर सम्म जानुपर्ने बाध्यतालाई हटाउनका लागि अभियान थालिने मेयर महतको भनाई छ । हेटौंडाको चुरेहिल अस्पतालमा मात्र डायलासिस सेवा भएकाले धेरै बिरामीले पालो पाई नसक्नु छ । यो समस्यालाई समाधान गर्नका लागि उपमहानगरपालिका तातेको हो ।
नगरभित्रका अति सिमान्तकृत परिवारको स्वास्थ्य बिमा शुल्क
नेपाल सरकारको स्वास्थ्य बिमा सम्बन्धी नीति अनुरुप हुने गरी नगरभित्रका अति सिमान्तकृत परिवारको स्वास्थ्य बिमा शुल्क उपमहानगरपालिकाले व्यहोरिने छ । स्वास्थय उपचारबाट कोही पनि बन्चित नहुन भन्ने उदेस्यले यो कार्यक्रम चालु आर्थिक वर्षमा ल्याउन लागिएको हो । विद्यालय जाने उमेर समूहका सबै बालबालिकाहरुलाई विद्यालय भर्ना अभियान कार्यक्रममा सघाउ पुर्याउन सामुदायिक विद्यालयहरुलाई परिचालन गरिने उपमहानगरपालिकाले जनाएको छ ।
विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्ने सुनिश्चितताका लागि नगरको दुर्गम क्षेत्रका शिक्षकहरुलाई थप प्रोत्साहन सुविधा, बालविकास सहयोगी कार्यकर्तालाई पोशाक र प्रोत्साहन सुविधा, एचआइभी सँक्रमित एवम् प्रभावित बालबालिकाहरुको शैक्षिक निरन्तरताका लागि बालबालिकाको नाममा बैङ्क खाता खोली शैक्षिक सहयोग उपलब्ध गराइने मेयर महतले बताउनुभयो ।
अनाथ र टुहुराको शैक्षिक अभिवाकत्व उपमहानगरपालिकाले लिने
सामुदायिक विद्यालयका शिक्षकहरुका लागि नियमित तालीम प्रदान गरिने भएको छ । निजी बिद्यालय संग प्रतिस्पर्धा गर्न सक्ने गरी सरकारी बिद्यालयका शिक्षकहरुका लागि पनि तालिम दिन लागिएको हो । शैक्षिक सामाग्रीको उत्पादन र वितरणमा जोड दिइने बताइएको छ ।
बालबालिकालाई विद्यालय ल्याऔँ, टिकाऔँ, सिकाऔँ र बिकाऔँ कार्यक्रमलाई सफलतापूर्वक पार्न अनाथ र टुहुराको शैक्षिक अभिवाकत्व उपमहानगरपालिकाले लिने मेयर महतको भनाई छ । नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्राविधिक शिक्षा अध्ययन अध्यापनका लागि प्रोत्साहन दिने नीति उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ल्याएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर उन्नतीका लागि दण्ड र पुरस्कारको नीतिलाई कडाईकासाथ लागू गरिने जनाइएको छ ।
नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुको भवनको रँग पहेँलो कायम गर्ने सम्बन्धमा नेपाल सरकारबाट भएको निर्णय कार्यान्वयनमा विशेष जोड दिइने तयारी छ । प्रत्येक सामुदायिक विद्यालयमा आधारभूत प्राथमिक स्वास्थ्य सामाग्री व्यवस्थापनको सुनिश्चितता गरिने मेयर महतले बताउनुभयो ।
बधशाला देखी भान्छासम्म स्वच्छ मासु पु¥याइने तयारी
हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७६–०७७ मा बधशाला देखी भान्छासम्म स्वच्छ र स्वस्थ मासु पुर्याउने भएको भएको छ । सबै मासु व्यावसायीहरुलाई एकै स्थानमा पशुबध गरेर उपभोक्तालाई स्वस्च मासु खुवाउनका लागि काम गर्न लागिएको हो । अभियानअन्तर्गत प्रदेश सरकारको सहयोग र निजी क्षेत्रको व्यवस्थापनमा सुविधासम्पन्न बधशाला प्रयोगमा ल्याइने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।