प्रदेश ३ का सांसदहरु फुर्सदिला, बैठक अझै अनिश्चित

हेटौंडा । प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक कहिले सञ्चालन हुने भन्ने अझै अनिस्चित भएको छ । बितेको असार १२ गते चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट पास गर्दै अर्को सूचना नआए सम्मका लागि स्थगित भएको प्रदेश सभाको बैठक अझै पनि कहिले सञ्चालन हुने भन्ने अनिस्चित छ ।
प्रदेश सभामा दर्ता भएको एउटा कानुन र समितिमा रहेका अरु चार वटा कानुन छन् । तर, संसद बैठक बस्न सकेको छैन । बिगत २२ दिन देखि संसद बैठक नबस्दा प्रदेश सभाका सांसदहरु फुर्सदिला बनेका छन् । बैठक नभएपछी प्रदेश ३ का सांसदहरु पार्टीको काम, आफ्ना निर्वाचन क्षेत्रमा घुम्ने, बाढी पहिरोको समस्या बुझ्ने लगायतका काममा व्यस्त रहेका छन् ।उनीहरू यतिबेला आफ्नो जिल्ला, निर्वाचन क्षेत्र पुगेर सर्वसाधारण, आफन्त, इष्टमित्रसँग भेटघाटमा छन् ।
बैठक बोलाउने समय अझै पनि अनिस्चित रहेको बताउँदै प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ भन्नुहुन्छ–‘संसदमा रहेका बिधेयक पनि धेरै छैनन् । वर्षायाम भएकाले सांसदहरुलाई हेटौंडा आउनका लागि धेरै सडकहरु अवरुद्ध भएकाले समस्या छ । अझै पनि बैठक कहिले राख्ने भन्ने अन्यौल भने कायमनै छ ।’ बिधेयकहरु अरु पनि दर्ता हुने र समितिमा रहेका बिधेयक पनि संसदले पास गर्नुपर्ने समय मिलाएर बैठक डाकिने सभामुख श्रेष्ठले बताउनुभयो ।
साउन महिनाभरीमा बैठक नवस्न पनि सक्ने आकलन गरिएको छ । अहिले चारै तिरका सडकहरु अवरुद्ध भएकाले सांसदहरुलाई आउन जानका लागि पनि समस्या भएको गुनासो गरिरहेका छन् । बिशेषगरी हेटौंडा– काठमाण्डौं छोटो दुरीको मार्ग अवरुद्ध भएपछी सांसदहरु हेटौंडा आउन समस्या भएको बताउँदै आएका छन् । छोटो दुरीको मार्गमा ज्याननै जोखिम मोलेर आउन जानु परेको भनेर गुनासो पनि गरेका छन् ।