वर्षाले थाहा नगरपालिकाको तरकारी खेतीमा बढी क्षति

हेटौंडा — मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा अविरल वर्षाका कारण बाढीले तरकारी खेतीमा क्षति पुर्याएको छ । बाढीले मोटरबाटो क्षतिग्रस्त बनाएको छ ।
नगरपालिकाको चार हजार रोपनीमा लगाएको तरकारी नष्ट भएको मेयर लवशेर विष्टले बताए । यसैगरी ६ सय १० रोपनीमा लगाएको कृषि उपज पनि नष्ट गरेको छ ।
बाढीपहिरोले थाहा नगरपालिका–८ स्थित पञ्चकन्या प्राविको भवन पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने ५ परिवार घरबारविहीन भएका छन् । पहिरो र बाढीले उनीहरूको घर बगाएको हो । नगरपालिकाका ३ सयभन्दा बढी घर बाढी र पहिरोको जोखिममा रहेका उपमेयर खड्ग गोपालीले बताए । थाहा नगरपालिकाको मंगलबार बसेको बैठकमा बाढीपहिरोबाट भएको क्षतिको अनुमानित विवरण संकलन गरिएको थियो । मानवीय क्षति नभए पनि बाढीपहिरोले ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको मेयर विष्टले भने ।
सबैभन्दा बढी क्षति थाहा २, ३, ७ र ८ वडामा भएको छ । यी चारवटै वडाका मोटरबाटोको पूर्ण रूपमा क्षति भएका छन् ।
थाहाको ७ र ८ वडाका अधिकांश घर जोखिममा छन् भने आन्तरिक मोटरबाटो पनि बाढीले बगाएको छ । वडा ३ घर्तीखोला क्षेत्रको मोटरबाटो बगाएको छ भने तरकारी खाद्य र बाली नष्ट गरेको छ ।
वडा २ मा पर्ने फाँट बजारमा बाढी पसेको छ । फेदीगाउँ खोलाले तटबन्धन भत्काएर बाढी बजारमा पसेको हो । दामन–डाँडाबास मोटरबाटोको शिखरकोट नजिक भुङदालबाट घर्तीखोलाको पुछारसम्म सडक खण्ड बाढीले बगाएको छ । त्यस क्षेत्रको सडक कालोपत्रे गरिएको थियो ।
२०५० सालको बाढी र पहिरोले फेदीगाउँ क्षेत्रमा मात्र ६० जनाको मृत्यु भएको थियो । सयौं घर बगाएको थियो । त्यसबेला बाढीले थाहा नगरपालिकामा पर्ने साविकको दामन र पालुङ गाविसमा रहेका सबै पुलपुलेसा र पानी घट्टहरू बगाएको थियो । त्यही बेलादेखि यस क्षेत्रमा पानी घट्टहरू मासिएका हुन् । नगरपालिकाले फाँटबजारतर्फ जाने बाटो बनाउन मंगलबारदेखि सुरु गरेको छ । आजको कान्तिपुर दैनिकमा छापिएको समाचार हामिले साभार गरेका हौं ।