हेटौंडाका चार प्रदेश कार्यालयमा मन्त्री दुलालको छड्के

हेटौंडा । प्रदेश ३ का सामाजिक बिकाश मन्त्री युवराज दुलाल आज आकस्मिक रुपमा आफ्ना मातहतका ४ वटा सरकारी कार्यालयको छड्के अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा धेरैजसो सरकारी कार्यालयमा कर्मचारी उपस्थित थिए भने केही कार्यालयमा थोरै मात्र कर्मचारी हाजिर भएका थिए । सामाजिक बिकाश मन्त्रालय अन्तरगतको शिक्षा र स्वास्थ्य कार्यालयमा अनुगमन गरिएको हो । आम नागरिकको सबै भन्दा महत्वपूर्ण सरोकारको बिषय रहेको शिक्षा र स्वाथ्यका चार कार्यालयमा मन्त्री दुलालले अनुगमन गर्नुभयो । अनुगमनका क्रममा कार्यालय नआउने कर्मचारीको हाजिरीमा रातो चिन्ह लगाइ दिनुभएको छ ।
आज बिहान १० बजेर १५ मिनेटमा प्रदेश शिक्षा निर्देशनालयमा छड्के अनुगमनमा पुग्दा दुईजना कार्यालय सहयोगी, एक जना अधिकृत मात्र भेट्नुभयो । त्यसैगरी मन्त्री दुलालले ११ बजे नारायणी अंचल आयुरबेदीक औषधालय, साढे ११ बजे स्वास्थ्य आपूर्ति व्यावस्थापन केन्द्र र स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ को कार्यालय हेटौंडामा अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा स्वास्थ्य निर्देशनालयमा ३२ जनाको दरवन्दीमा कर्मचारी समायोजनपछी पनि धेरै कर्मचारी हाजिर हुनै नआइसकेको पाइएको छ ।
कार्यालयका एक जना कर्मचारी बिना जानकारी अनुपस्थित, एक जना भने जानकारी गराएर बिदामा बसेको पाइएको मन्त्री दुलालले जानकारी दिनुभयो । यसैगरी आयुरबेदीक औषधालयमा ३ जना कर्मचारी बिदामा बसेका र अर सबै कर्मचारी कार्यालयमा उपस्थित रहेका छन् । स्वास्थ्य आपूर्ति व्यावस्थापन केन्द्रमा कार्यालयका सबै कर्मचारी भेटिएको उहाँले बताउनुभयो ।
यसैगरी शिक्षा बिकाश निर्देशनालयमा कार्यालयका प्रमुख देखि तल्ला तहका सबैजसो कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् । कार्यालयमा हाजिर रजिष्टर अनुसार ८ जना कर्मचारी अनुपस्थित रहेका थिए । मन्त्री दुलाल अनुगमनमा पुग्ने बित्तिकै सबै हाजिर रजिष्टर हेरेर नआउने कर्मचारीको हाजिरीमा रेजा लगाउनु भएको छ । कामको समयमा कर्मचारी अनुपस्थित भएपछी उहाँले नियमित आउनका लागि निर्देशन समेत दिनुभएको छ ।
मन्त्रालय अन्तरगतका कार्यालयलाई व्यवस्थित बनाइदै
प्रदेश ३ का सामाजिक बिकाश मन्त्री युवराज दुलालले मन्त्रालय अन्तरगतका कार्यालयलाई चालु आर्थिक वर्षको सुरुवातबाट नै थप व्यवस्थित बनाउन लाग्नुभएको छ । मन्त्रालय अन्तरगतका निर्देशनालय, जिल्ला स्तरका कार्यालयलाई थप व्यवस्थित बनाउन लागिएको हो । सबै कार्यालयमा कर्मचारीहरु कार्यालय पोसाकमा आउनुपर्ने, अनुशासित र व्यवस्थित बनाइनुपर्ने लगायतका निर्देशन दिदै छड्के अनुगमनमा निस्कीएको उहाँले बताउनुभयो । सबै कर्मचारीहरु कार्यालय समयमा आउनुपर्ने, सेवाग्राहीका कामहरु समयमानै गर्नुपर्ने लगायतका निर्देशन दिदै कार्यालयमा परेका समस्या र गुनासाहरु समेत उहाँले सुनेर कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
सामाजिक बिकाश मन्त्रालयमा बिधुतिय हाजिरी
प्रदेश नम्बर ३ को सामाजिक बिकाश मन्त्रालयमा बिधुतिय हाजिरी सुरु भएको छ । अव रजिष्टरमा भन्दा पनि बिधुतिय हाजिरीले सबै कर्मचारी आउँदा र जाँदाको समयमा बिधुतिय हाजिरी गर्नुपर्ने छ । सबै भन्दा पहिले आफ्नै मन्त्रालयबाट कामलाई चुस्त दुरुस्त बनाउने र आफु मातहतका कार्यालयलाई पनि थप व्यवस्थित बनाउन लागिएको मन्त्री दुलालले बताउनुभयो । मन्त्रालयमा बिधुतिय हाजिरी राखिसकेपछी अव केही निर्देशनालयमा बिधुतिय हाजिरी राखिने उहाँले बताउनुभयो ।