मकवानपुरको मार्खुमा पहिरोले घरै बगाउँदा दुईजना बेपत्ता

हेटौंडा । मकवानपुरको मार्खुमा गएरातीको बर्षाका कारण पहिरोले घरै बगाउँदा दुईजना बेपत्ता भएका छन् । अका एक जना पहिरोमा परी घाइते भएका छन् । गएराती लगातार त्यस क्षेत्रमा पानी परेकाले पहिरो लडेर घर बगाउँदा दुईजनालाई पुरिएको आसंका गरिएको छ ।
पहिरोमा पुरिनेमा ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ मार्खुका कान्छीमाया बलामी र १८ बर्षीया छोरी बबिता बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । पहिरोमा परी ३८ बर्षीया बुहारी बेली बलामी घाइते भएकी छिन् । गएरातीनै पहिरो लडेपनि स्थानीय वासिन्दाहरुले बिहान मात्र थाहा पाएका थिए । बिहान पख छिमेकी बलामीकोे घरै नदेखेपछी स्थानीय वासिन्दाहरुले प्रहरीलाई खबर गरेका थिए ।
पहिरोमा पुरिएकाहरुको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको उहाँले बताउनुभयो । घरमाथि पहिरो आउदा घरमा रहेका उनीहरुलाई पुरेको हो ।