हेटौँडामा भयो ‘झुमर’माथि अन्तरक्रिया
हेटौंडा । आँचल साहित्य कला पुञ्जको आयोजनामा लेखक सिम्रन क्षेत्रीको उपन्यास ‘झुमर’बारे हेटौँडामा अन्तरक्रिया कार्यक्रम भएको छ । शुभकामना आदानप्रदान तथा पुस्तक चर्चाका रुपमा असोज १० गते सोमबार साहित्य सङ्गमको सभाहलमा भएको उक्त कार्यक्रममा पुस्तकबारे समीक्षकहरू घनश्याम घिमिरे ,नीरा शर्मा र कवि छवि अनित्यले परिचर्चा गर्नुभएको थियो ।
पुस्तकबारे बोल्दै घिमिरेले पुस्तकले नारीको पक्षमा वकालत गरेको र सामाजिक कथाको रुपमा उपन्यास आएको बताउनु भयो । अर्का समीक्षक नीरा शर्माले पुस्तक सशक्त रहेको भाषा आकर्षणयुक्त रहेको बताउनु भएको थियो भने छवि अनित्यले पुस्तकको कथावस्तु नेपाली समाजको यथार्थ चित्रण रहेको बताउनु भयो । आँचलकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा साहित्यकार निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।
संस्थाकी कोषाध्यक्ष निर्मला ब्लोनलले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजीकरण संस्थाकी सचिव सविता तिमल्सिनाले गरेकी थिइन् । साहित्यकारहरू आर।सी।रिजाल, मुना अर्याल, सुवास खनाल, सानु खनाल, मसान उपासक, श्रीराम अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको सो कार्यक्रममा पाठकीय टिप्पणीको रुपमा देवराज तिवारी,सम्झना अधिकारी र अनु रोक्का मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा लेखकहरू ज्योत्सना श्रेष्ठ, भवानी तिमल्सिना, मिन प्रसाद लामिछाने, राजकुमार लामिछाने , पूर्णकला घिमिरे, मञ्जु खराल,सम्प्रस पौडेल लगायतको सहभागिता रहेको थियो ।







