महिला युरोकप २०२२ : इंग्ल्यान्डलाई ऐतिहासिक उपाधि
विश्व फुटबलमा इंग्ल्यान्डले ऐतिहासिक जित निकालेको छ । महिला युरोकपको फाइनलमा गएराति जर्मनीविरुद्ध दुई एक गोल अन्तरको रोमाञ्चक जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक उपाधि जितेको हो ।
इंग्ल्यान्डको पुरुष टिमले समेत सन् १९६६ मा विश्वकप फुटबलको उपाधि जितेपछि कुनै ठूलो प्रतियोगितामा सफलता पाउन सकेको छैन ।
वेम्ब्ली स्टेडियममा गएराति ८७ हजार बढी दर्शकसामु घरेलु टोलीले ८ पटकको विजेता जर्मनीविरुद्ध नाटकीय जित निकाल्यो । निर्धारित ९० मिनेटको खेल एकएक गोलको बराबरीमा सकिएपछि थपिएको समयको २०औं मिनेटमा क्लोए केलीले गरेको गोल इंग्ल्यान्डलाई इतिहास रच्न पर्याप्त रह्यो ।
६२औं मिनेटमा इला टुनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । तर ७९औं मिनेटमा लिना मागुलले गोल गर्दै जर्मनीको आशा जगाएकी थिएन् । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जहाँ इंग्ल्यान्डले इतिहास रच्यो ।






