भारतका पत्रकार गोस्वामीलाई १४ दिनका लागि हिरासतमा पठाइयो (भिडिओ)
भारतका पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ। भारतीय टेलिभिजन रिपब्लिकका प्रधान सम्पादक अर्नबलाई सन् २०१८ मा भएको आत्महत्या घटनामा दुरुत्साहन गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको हो। त्यही अभियोगमा उनलाई बुधबार अबेर राति हिरासत पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पत्रकार अर्नबका वकिल अबाद पोन्डाले धरौटीमा उनको रिहाइका लागि अदालतमा निवेदन दिएका छन्। जसको सुनुवाइ बिहीबार हुने अनुमान गरिएको छ। सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकले आत्महत्या गरेका थिए। रिपब्लिक टेलिभिजनले दिनुपर्ने पैसा नदिएका कारण आफ्ना बुबा र हजुरआमाले आत्महत्या गरेको भन्दै डिजाइनरकी छोरीले आरोप लगाएकी छन्। सोही मुद्दा अनुसन्धानका लागि प्रहरीले रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक अर्नबलाई पक्राउ गरेको हो।
#WATCH: Republic TV Editor Arnab Goswami shows injury marks, says, "Policemen surrounded me, held me by the scruff of my neck, pushed me. I'm here without shoes…I've been assaulted." #Maharashtra
(Video Source: Republic TV) pic.twitter.com/E4lk5xocbd
— ANI (@ANI) November 4, 2020
पत्रकार गोस्वामी तलको भिडिओमा आफ्ना शरीरका चोट देखाउँदै भनिरहेका छन्, ‘प्रहरीले मलाई घेराउ गर्यो। हातपात गर्यो, गर्धनमा समात्यो। हेर्नुस्, म बिना जुत्तामा छु।’ उनी तिनै पत्रकार हुन्, जसले नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा जारी गर्दा नेपाली कांग्रेसका नेता डा। मीनेन्द्र रिजालसँग भिडिओ अन्तर्वार्ता लिँदै जथाभावी बोलेका थिए। जसविरुद्ध नेता रिजालले कडा जवाफ फर्काएका थिए। त्यो भिडिओ निकै भाइरल भएको थियो।







