बन्यो सास सुँघेकै भरमा तत्काल कोरोना पत्ता लगाउने नयाँ प्रविधि
वेल्सका वैज्ञानिकले मानिसको सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास गरेका छन्। बीबीसीका अनुसार यो उपकरण वेल्सस्थित इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले विकास गरेको हो। सुरुमा फोक्सोको क्यान्सरजस्ता रोग र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगबीच भिन्नता छुट्याउन यो प्रविधि विकास गर्न लागेको तर कोरोना महामारी सुरु भएकाले यसलाई कोरोना परीक्षणका लागि विकास गरिएको कम्पनीले जनाएको छ।
उक्त उपकरणबाट स्कटल्यान्ड र जर्मनीमा परीक्षण गर्दा तुरुन्त कोरोना भएरनभएको पत्ता लागेको ‘लान्सिट’ जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। इम्स्पेक्स डाइग्नोस्टिक्सले बजेट सुनिश्चित भएमा यो उपकरण ६ महिनाभित्र आम प्रयोगका लागि तयार हुन सक्ने जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले यसको सम्भावना निकै उत्साहप्रद देखिएको र कोरोना परीक्षण गर्न अन्य कुनै नमुना लिन नपर्ने तथा जनशक्ति नचाहिने र केही मिनेटभित्रै नतिजा आउने बताए।। यो हवाई तथा स्थल यातायात क्षेत्रमा बढी उपयोग हुने उनको भनाइ छ।







