अमेरिकी राष्ट्रपति चुन्न अन्तरिक्षबाटै मतदान!

जनपत्र
१६ कार्तिक २०७७, आईतवार ०७:१९

अन्तरिक्षयात्री केट रुबिन्सले अन्तरिक्षबाटै अमेरिकी राष्ट्रपतिको लागि मतदान गरेकी छन्। नोभेम्बर ३ मा अमेरिकामा नयाँ राष्ट्रपति चयन गर्न निर्वाचन हुँदैछ। पृथ्वीको तल्लो कक्षमा घुमिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ९आईएसएस० बाट रुबिन्सले अमेरिकी राष्ट्रपति चुन्नको लागि मतदान गरेको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ।

अमेरिकी नागरिकले विश्वको जुनसुकै ठाउँबाट पनि मतदान गर्न पाउने व्यवस्था छ। रुबिन्सले पृथ्वीभन्दा २ सय माइलमाथि रहेको अन्तरिक्ष केन्द्रबाट मतदान गरेकी हुन्। रुबिन्सले सन् २०१६ मा पनि अन्तरिक्षबाटै मत खसालेकी थिइन्। नासाका अनुसार त्यतिबेला पनि उनी अनुसन्धानको सिलसिलामा अन्तरिक्ष केन्द्रमै थिइन्। रुबिन्ससहित अन्य दुई जना रुसी अन्तरिक्षयात्री ६ महिनाका लागि आईएसएसमा अनुसन्धानका लागि बसिरहेका सिएनएनले जनाएको छ। अक्टोबरमा त्यहाँ पुगेका उनीहरुले ‘भविष्यका क्वान्टम सेन्सरका लागि लेजर कुल्ड एटम्स’ र कार्डियो भास्कुलरसम्बन्धी अनुसन्धान गरिरहेका नासाले जनाएको छ।

अमेरिकाको टेक्सास राज्यले सन् १९९७ देखि अन्तरिक्षबाट पनि मत खासल्न पाइने सुविधाको व्यवस्था गरेको छ। नासाको जोनसन स्पेस सेन्टर टेक्सासकै हस्टन सहरमा अवस्थित भएकाले अधिकांश अन्तरिक्षयात्री सोही सहरमा बस्ने गर्छन्।नोभेम्बर ३ मा हुने निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि चुनाव लड्दैछन्। ट्रम्पसँग डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडनले प्रतिस्पर्धा गर्दैछन्। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*