भारतमा प्रहरी अधिकारीसहितकाे बैठकमा अचानक गोली चल्याे
भारतको उत्तर प्रदेशअन्तर्गत बलिया जिल्लाको दुर्जनपुर गाउँमा प्रहरी अधिकृतसहित उच्चस्तरका अधिकारीसहितको बैठक भइरहेका बेला अचानक गोली चलाइएको छ। गोली लागेर एक जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार राशन कोटा निर्धारणका लागि भइरहेको बैठकमा एक व्यक्तिले अचानक गोली चलाएका हुन्। गोली लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको स्थिति गम्भीर छ। गोली चलाउने व्यक्ति भने तत्काल भागेकाले उसको खोजी भइरहेको स्थानीय प्रहरीले जनाएको छ।
घटनापछि उत्तर प्रदेश सरकारले स्थानीय रेवती पुलिस स्टेसन क्षेत्रका एसडीएम र पुलिस अफिसरलगायत धेरै प्रहरीलाई निलम्बन गरेको छ। बलियाका प्रहरी अधिकारी देवेन्द्रनाथले बीबीसीसँग भने, ‘दुर्जनपुर गाउँमा सरकारी कोटाको पसल छनोटको प्रक्रिया चलिरहेको थियो। दुई पक्षीय सहायता टोलीका प्रतिनिधि पनि थिए। एउटा पक्षले धीरेन्द्रप्रताप सिंह उर्फ डब्ल्युलाई समर्थन गरेको थियो। यी दुई समूहबीच पहिलेदेखि नै दुश्मनी थियो। त्यही बेला अचानक गोली चल्यो। त्यसपछि छनोट प्रक्रिया रोकिएको छ।’
उनका अनुसार धीरेन्द्रप्रताप सिंहले गोली चलाएका हुन्। गोली लागेर जयप्रकाश उर्फ गामा पाल गम्भीर घाइते भएका थिए। अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको र कार्बाही प्रक्रिया अघि बढाइने उनले बताए।







