अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना
कोरोना संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । आफैले भिडियो संदेश दिदै राष्ट्रपति ट्रम्पले आफु वाल्टर रीड नेशनल मिलेटेरी अस्पतालमा जान लागेको जानकारी दिएका हुन् । ट्रम्पलाई शुक्रबार राति ज्वरो आएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ । ह्वाइटहाउसले राष्ट्रपति ट्रम्पले थकान महसुस गरेको भएपनि उच्च मनोबलका साथ रहेको जानकारी दिएको छ । साथै ट्रम्पलाई कोरोनाका सामान्य लक्षण रहेको बताइएको छ ।
७४ बर्षिय राष्ट्रपति ट्रम्प हेलिकप्टरबाट मेलिटेरी अस्पताल पुगेका छन् । उनीसँगै संक्रमण पुष्टि भएकी प्रथम महिला मेलानिया ट्रम्पको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । ट्रम्पले भिडियो सन्देसमार्फत आफुलाई स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले आफु र प्रथम महिला मेलानियालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका थिए ।ट्रम्प प्रशासनकी पूर्व कम्युनिकेसन निर्देशक होप हिक्स कोरोना संक्रमित भएपछि ट्रम्पले कोरोना परिक्षण गराएका थिए ।ट्रम्पले हिक्सलाई फेरी सल्लाहकारको रुपमा ह्वाइटहाउसमा फर्काउने तयारी गरिरहेका बेला केहि दिनदेखि उनीहरुबीच धेरै पटक भेट भएको अमेरिकी मिडियाहरुले बताएका छन् । बुधबार बिहान भएको बहसमा समेत हिक्स राष्ट्रपति ट्रम्पसँगै गएको बताइएको छ ।







