भारतकाे दाबी : ‘लद्दाख सीमा क्षेत्रमा चीनले १ हजार वर्ग किमी क्षेत्र कब्जा गर्याे’
भारत र चीनको सीमा क्षेत्र लद्दाखमा दुई देशका सैनिकबीच तनाव बढेको छ । चार दिनयता दुई देशका सैनिकबीच तनाव जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय भूमिमा आएका चीनका सैनिकलाई भगाउन सफल भएको स्रोतलाई उल्लेख गर्दै सञ्चारमाध्यमले दाबी गरेका छन् । तर चीनले भने भारतीय सैनिकले चिनियाँ भूमिमा पसेर गतिविधि गर्न थालेको भन्दै कडा विरोध गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमार्फत भारतको कदमको कडा शब्दमा विरोध गर्नुभएको बीबीसीले जनाएको छ । यसैबीच भारतले लद्दाखको वास्तविक सीमा नियन्त्रण रेखा ‘एलएसी’ मा झण्डै एक हजार वर्ग किलोमिटर क्षेत्र चीनले कब्जा गरेको दाबी गरेको छ । ुद हिन्दूु ले भारतीय जासुसी एजेन्सीको स्रोतलाई उल्लेख गरेर लद्दाखको दशदेखि १३ पेट्रोलियम बिन्दुदेखि देपसाङ प्लेन्ससम्म झण्डै एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जा भएको जनाएको छ ।
गएको जुन १५ मा लद्दाखको गलवान उपत्यकामा भएको झडपमा भारतका २० जना सैनिकको ज्यान गएको थियो । चीनले भने आफ्नो पक्षतर्फ कति हताहत भयो भन्नेबारेमा अझै जानकारी दिएको छैन । त्यसपछि सीमा क्षेत्रमा शान्ति स्थापना गर्न दुवै देशले पहल गरे पनि झडप भइरहेका छन् । सोमबार पनि भारतले चिनियाँ सैनिकहरुले पूर्वी लद्दाखमा सीमामा गरिएको सहमति उल्लङ्घन गरेको आरोप लगाएको थियो । चिनियाँ सैनिकहरुले उक्साहट कदम उठाउँदै सीमाको अहिलेको स्थिति परिवर्तन गर्ने प्रयास गरेको तर त्यसलाई आफ्नो सेनाले रोकेको भारतले दाबी गरेको थियो ।
भारतीय सेनाले प्रकाशित गरेको विज्ञप्तिमा भनेको थियो, ‘भारतीय सैनिकहरुले प्योङयाङ त्सो पोखरीमा चिनियाँ सैनिकको उक्साहटलाई रोका छन् । भारतीय सेना संवादको माध्यमबाट शान्ति कायम गर्न र आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाको लागि पनि प्रतिबद्ध छ । यो विवादलाई लिएर ब्रिगेड कमाण्डर स्तरमा बैठक जारी छ ।’ चीनले भने आफ्नो सैनिकले एलएसी पार गरेको खबरको खण्डन गरेको थियो ।







