अमेरिकामा मृत्यु दर बढ्दै, सरकारको प्रतिक्रिया नसुध्रिए झन ठूलो क्षतिको चेतावनी
बुधबार अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या १ लाख ५० हजार पार गरेको छ जसले अहिलेसम्मकै सबैभन्दा उच्च मृत्यु दरको नयाँ रकेर्ड बनाएको हो । अमेरिकामा पहिलो बिरामीको मृत्यु फेब्रुअरी २९ मा भएको थियो जसको ५४ दिनपछि नै सो तथ्याङ्क ठूलो रुपमा वृद्धि भइ ५० हजार पुगेको हो । यसरी कोरोनाका कारण मृत्यु भएको विश्वव्यापी रेकर्डमा अमेरिकाको तथ्याङ्क मात्र एक चौथाइ भन्दा बढी रहेको जोन होप्किन्स युनिभर्सिटीले जनाएको छ ।
यसबारे हाभर्ड ग्लोबल हेल्थ इन्सटिटिउटका निर्देशक डाक्टर अनिश झाले भनेका छन्, “यो तथ्याङ्कले स्पष्ट रुपमा के देखाउँछ भने, हामीले, ती सबै मृत्यु हुनबाट जोगाउने कुरालाई प्राथमिकतामा राख्न असफल भयौँ र व्यक्तिगत रुपमा यसप्रति म आक्रोशित भन्दा पनि दुःखी र असन्तुष्ट छु । अझै पनि हामीले अर्को १ लाख नागरिकहरुलाई मृत्युबाट जोगाउन के गर्न सक्छौँ भन्नेमा पूर्ण केन्द्रित हुन सकिरहेका छैनौँ । मेरो विचारमा हामीले त्यसलाई रोक्न सक्छौँ तर यसका लागि सरकारले गम्भीर भएर लाग्नैपर्ने हुन्छ । ”
यसरी अमेरिकाका केही स्टेटमा मृत्यु दर अधिक उच्च बिन्दुमा पुगेको छ । बुधबार क्यालिफोर्नियामा मात्र एकै दिन १९७ कोभिड बिरामीको मृत्यु भएको हो । त्यस्तै मंगलबार देशव्यापी दैनिक औसत मृत्युको सङ्ख्या १ हजार पार गरेको हो । जोन होप्किन्सको डाटा अनुसार अघिल्लो हप्ताको तुलनामा यो हप्तामा मृत्यु दर १० प्रतिशतले बढेको छ । र स्वास्थ्यविद्हरुले अब आगामी दिनहरुमा मृत्यु झन झन बढ्दै जाने चेतावनी दिएका छन् ।
त्यसैले पनि स्कुलकलेज खुलाउने सम्बन्धी अत्यन्तै गम्भीरतापूर्वक सोचविचार गर्नुपर्ने बताइएको छ । संक्रमण नियन्त्रणमा नल्याइकन व्यवसायहरु खुलाउँदा र सामाजिक दुरीको नियम कडा रुपमा लागू नगर्दा अनि मास्क अनिवार्य नगरिएकाले नै अमेरिका यस्तो अवस्थामा पुगेको वरिष्ठ डाक्टर एन्थोनी फोसी बताउँछन् ।
जोन हप्किन्स युनिभर्सिटीका विज्ञ टोलीले पनि देशव्यापी रुपमा कोरोना सम्बन्धी नीति नसुधारेमा अमेरिकाले महामारीको सबैभन्दा ठूलो मूल्य चुकाउनुपर्ने बताएको छ । सो टोलीले पेश गरेको नयाँ रिपोर्टमा सरकारलाई केही महत्वपूर्ण सुझावहरु पनि दिइएको छ जसमा संघीय स्तरका नेताहरुले मास्कको प्रयोग अनिवार्य गराइ बाहिरी घुमफिर सिमित गराउन जोड दिनुपर्ने बताइएको हो । त्यसैगरी परीक्षणको दायरा बढाउन पनि अति आवश्यक रहेको रिपोर्टमा उल्लेख छ ।
त्यसैगरी अर्को प्रमुख मेडिकल अध्ययन संघले पनि अमेरिकामा मृत्यु दर आकाशिन सक्ने सम्बन्धी चतोवनी दिइरहेको छ । ‘द असोसिएसन अफ अमेरिकन मेडिकल कलेज’ का अनुसार सरकारले छिटै प्रभावकारी कदम नउठाएमा सयौँ हजारौँको सङ्ख्यामा अझै मृत्यु भइरहने बताएको हो । उक्त संघका प्रमुख कार्यकारी डाक्टर डेभिड स्कोर्टोनले भनेका छन्, “नागरिकहरुको ज्यान बचाउनका लागि समन्वित निर्णयपूर्वक कदम उठाउन जरुरी छ । अनि मात्र महामारी अन्त्य भइ अमेरिकाले आफ्नो अर्थतन्त्र पुनः निर्माण गरि सामान्य जीवनमा फर्कन सक्नेछ । ”संघले उचित नीति नअपनाएमा मृत्यु र संक्रमण दर कुन उचाइसम्म पुग्न सक्नेछ भन्ने स्पष्ट डाटा उल्लेख गरेको छैन तर ठूलो मानव क्षति हुने भविष्यवाणी गरेको हो । सीएनएन







