आलम प्रकरण : घाइतेलाई इँटाभट्टामा जलाएको प्रहरीको निश्कर्ष
प्रहरीले सांसद अफताल आलम समेतको संलग्नतामा बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा जलाएको निष्कर्ष सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा रौतहट २ का सांसद आलम १९ दिनदेखि प्रहरी हिरासतमा छन् । अनुसन्धानका विविध पक्षहरु समेटेर अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिई सरकारी वकिलको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए ।
अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन प्रहरी प्रमुख ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्र प्रहरी प्रमुख डीआईजी किरण गौतम र तत्कालीन सरकारी वकिल ध्रुवमणि ज्ञवालीसँग पनि बयान लिएको छ । प्रहरीले उनीहरु भएकै ठाउँमा पुगेर बयान लिएको हो । यसैगरी घटनाका समयमा राजपुरमा खटिएका तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदी र राजीव बस्नेतले पनि बयान लिइएको छ । प्रहरीले घाइते सफी मोहम्मद र घटनामा प्रत्यक्षदर्शी एवं मतृक ओसी अख्तरका ससुरासँग पनि बयान लिएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले घाइतेहरुलाई इँटा भट्टासम्म पुर्याउन प्रयोग भएको ट्याक्टर बरामद गरेको छ भने घाइतेहरुको उपचार गरिएको भारतीय अस्पतालको रिपोर्ट पनि ल्याइएको छ । प्रहरीले राजपुरमा बम विस्फोट भएको र त्यहाँ ज्यान गुमाएका वा घाइते भएकाहरुलाई इँटा भट्टामा लगेर जलाएको ठहर गरेको छ । ‘त्रिलोकप्रताप सिंह ९पिन्टु० र ओसी अख्तरको घटनामा मृत्यु भएको छ । अरु दर्जनौं मारिएका छन्’ रौतहट प्रहरीका एक अनुसन्धान अधिृकतले भने, ‘प्रतिवेदनमा मृतकको संख्या यकिन गर्न सकेनौं ।’ प्रहरीको अनुसन्धानमा आलमसँगै फरार रहेका चारै जनालाई मुख्य दोषी भएको निष्कर्ष पनि निकालेको छ ।
के के छन् प्रमाण ?
प्रहरीको अनुसन्धान प्रतिवेदनमा ओसी अख्तरका ससुरा समसुल मियाँको बयानलाई बलियो प्रमाणका रुपमा पेश गरिएको छ । उनले विस्फोटमा घाइते भएकाहरुलाई ट्याक्टरमा हालेर इँटा भट्टामा लैजाँदै गरेको गहुँबारीमा लुकेर आफूले हेरेको बताएका छन् ।
यस्तै घाइते मोहम्मदको बयान अर्को प्रमाण हो । उनी घटनामा परेर जीवित रहेका एक्ला व्यक्ति हुन् । फरेन्सिक रिपोर्टले पनि सफीको छाती र पेटको लागेको घाउ बम विस्फोटबाटै भएको प्रमाणित गरेको छ । सफीले उपचार गरेको भारतको बिहारस्थित अस्पतालको रिपोर्ट ल्याइएको छ ।
एक अनुसन्धान अधिकृतले भने, ‘दुई जनाको बयानसँगै राजपुरका प्रहरी इन्स्पेक्टर इन्द्र सुवेदीलाई हटाउनु र राजीव बस्नेतलाई खटाउनुले पनि घटना भएको पुष्टि गर्छ भन्ने प्रतिवेदनमा उल्लेख छ ।’
घटनापछि स्थलगत अध्ययन गर्न गएको मानवअधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० को रिपोर्ट, ना १ त ६४७२ नम्बरको ट्याक्टरलाई पनि प्रमाणका रुपमा पेश गरेको छ । विस्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टासम्म पुर्याउन प्रयोग भएको भनिएको यो ट्याक्टर उक्त समय आलमका भाइ महताब आलमको नाममा दर्ता भएको प्रमाण प्रहरीसँग छ ।
अनलाईन खबरबाट






