प्रतिबन्धित नेकपा बैठकमा प्रहरीको छापा : विप्लवका दाजुसहित २१ पक्राउ
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । बुधबार राति दाङको एक जंगलमा बैठक बसेको सूचनापछि परिचालित प्रहरी टोलीले विप्लवका सहोदर दाजुसहित २१ जनालाई पक्राउ गरेको हो । उनीहरूका साथबाट केही हतियार, विस्फोटक, पदार्थ, महत्वपूर्ण दस्तावेज बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा विप्लवका दाजु तथा केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज र मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ’, राप्ती ब्युरो इन्चार्ज केशवबहादुर बाँठा मगर ‘सुवास’, राप्ती ब्युरो एवं न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा ‘सुन्दर’ राप्ती ब्युरो कार्यालय सचिव सविन पोख्रेल, दाङ जिल्ला इन्चार्ज यमलाल कटुवाल ‘विक्रम’ छन् । यसैगरी दाङ जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपाल, केन्दीय अध्यक्ष बविन केसी ‘पाटन, जंगली’ बुद्धिजिवी सुनिल पौडेल, दाङ एरिया नम्बर ४ इन्चार्ज एकराज चौधरी, दाङ एरिया नम्बर १ इन्चार्ज धनबहादुर बोहोरा ‘महान’, पूर्वजनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष सुरज विक, पार्टी सदस्य हितप्रसाद रोका, पार्टी सदस्यहरू पोस्टमान घर्ती, दलबहादुर खत्री, अमित घर्तिमगर, बालकृष्ण शर्मा, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापालगायत रहेका छन् ।






