मकवानपुरका दश वटै स्थानीय तहमा ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु
मकवानपुर । आजदेखि देशभरका ७५३ वटै स्थानीय तहसँगै मकवानपुरका दश वटै स्थानीय तहमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमसहित ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालनमा आएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहअनुसार नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो सप्ताह मनाउन थालिएको हो। जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका व्यक्तिगत घटनाको दर्ता व्यक्तिको कानुनी पहिचान कायम गर्ने, राज्यका नीति निर्माणमा सहयोग पुर्याउने तथा सरकारी सेवा प्राप्तिको आधारका रूपमा रहने भएकाले यसको महत्त्व बढ्दो रहेको छ।
यसै सन्दर्भमा मकवानपुरका सबै स्थानीय तहले विद्यालय, टोल विकास संस्था तथा विभिन्न संघसंस्थासँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएका छन्। सप्ताहभर व्यक्तिगत घटना दर्ताको आवश्यकता, प्रक्रिया र लाभका विषयमा जानकारी दिने, प्रचारप्रसार गर्ने तथा दर्ता अभियानलाई तीव्रता दिने कार्यक्रम तय गरिएको जनाइएको छ।
विभागले गत चैतको अन्तिम साता नै देशभरका स्थानीय तहलाई परिपत्र गर्दै सप्ताहव्यापी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिइसकेको थियो।







