मकवानपुरमा फस्टाउँदै मदिरा उद्योगः नष्ट गर्ने कि ब्राण्डिङ गर्ने ?
हेटौँडा । मकवानपुर जिल्लामा पछिल्लो समय घरेलु मदिरा उत्पादन गर्ने अवैध उद्योगहरू तीव्र रूपमा विस्तार भइरहेका छन्। हेटौँडा उपमहानगरपालिकासहित जिल्लाका सबै स्थानीय तहमा घरायसी प्रयोजनदेखि व्यावसायिक बिक्रीसम्मका लागि यस्ता मदिरा उद्योगहरू सञ्चालनमा रहेका छन्।
वर्षौंदेखि प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान चलाउँदै आए पनि यस्ता उद्योगहरू बन्द हुनुको सट्टा अझ व्यवस्थित र ठूला रूपमा सञ्चालन हुने क्रम बढ्दै गएको देखिन्छ। हेटौंडा बजार आसपासका क्षेत्र र गाउँ–गाउँमा फैलिएका यस्ता भट्टिहरूले स्थानीय बजारमा उल्लेख्य खपत कायम गरिरहेका छन्।

यसैबीच, अवैध रूपमा सञ्चालन भइरहेका यस्ता उद्योगलाई पूर्णरूपमा नष्ट गर्ने कि नियमन गरी ब्राण्डिङतर्फ लैजाने भन्ने विषयमा बहस सुरु भएको छ। घरेलु मदिराको व्यापक उत्पादन र खपत भइरहे पनि अवैध हैसियतका कारण राज्यले यसबाट कर संकलन गर्न सकेको छैन। सरोकारवालाहरूका अनुसार उचित नीतिगत व्यवस्थापन र ब्राण्डिङ गर्न सके आयातित मदिरामा निर्भरता समेत घटाउन सकिने सम्भावना छ।
यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो समय दुई वटा ठूला कारबाही गर्दै ठूलो परिमाणमा मदिरा बरामद गरेको छ।

चैत २९ गते हेटौँडा–१ चौकीटोलस्थित जगतबहादुर घिसिङको घरमा सञ्चालन गरिएको मदिरा भट्टीमा छापा मार्दा प्रहरीले करिब ४ हजार लिटर तयारी मदिरा र ५ हजार लिटर कच्चा पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए । उक्त स्थानबाट ग्यास सिलिन्डर ८ वटा, भट्टे चुलो २ वटा, चामल २ बोरा तथा प्लास्टिकका ड्रम र बोतलहरू समेत बरामद गरिएको छ। सो प्रकरणमा सञ्चालकसहित चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

त्यसअघि चैत २३ गते हेटौँडा–१६ स्थित शिवम सिमेन्ट नजिकै सञ्चालन भइरहेको अर्को मदिरा भट्टीमा गरिएको कारबाहीमा ५ सय लिटर तयारी मदिरा र २ हजार ५ सय लिटर कच्चा पदार्थ नष्ट गरिएको थियो। सो स्थानबाट मदिरा उत्पादनमा प्रयोग हुने मेसिन, ड्रम, ग्यास सिलिन्डर, कोदो लगायतका सामग्री बरामद गरिएको थियो। उक्त घटनामा सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले यस्ता अवैध गतिविधिमाथि कारबाहीलाई निरन्तरता दिने जनाएको भए पनि स्थानीय तहमा भने नियन्त्रण प्रभावकारी हुन नसकेको गुनासो बढ्दो छ।
एकातिर अवैध भन्दै नष्ट गर्ने अभियान, अर्कोतर्फ बढ्दो उत्पादन र खपत । यही द्वन्द्वका बीच अब घरेलु मदिरालाई व्यवस्थापन गरी राजस्वको दायरामा ल्याउने कि पूर्णरूपमा प्रतिबन्ध गर्ने भन्ने प्रश्न अझै अनुत्तरित छ।







