मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
मकवानपुर — हावाहुरीसहित परेको चट्याङ लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्लाको बागमती गाउँपालिका–१ भैँसेस्थित बागमती खोलाको बगरमा मंगलबार साँझ करिब ६:३० बजेको समयमा घटना भएको हो। सोही स्थानका वर्ष अन्दाजी ३२ का अजय पहरी र वर्ष अन्दाजी ३७ का उज्वल थोकर माछा मारेर घर फर्किने क्रममा हिँडिरहेका बेला चट्याङ लाग्दा दुवै जना घाइते भएका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल खटिएको थियो। घाइते उज्वल थोकरलाई उपचारका लागि हेटौंडा लगिएको छ, उनको अवस्था मध्यम रहेको जनाइएको छ।
त्यस्तै, गम्भीर घाइते अजय पहरीलाई प्रारम्भिक उपचारका लागि झुरझुरेस्थित सान्भि पोलिक्लिनिक लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि हेटौंडा पठाइए पनि राति ११:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







