मकवानपुरमा टुचन मेसिन ब्रेकफेल, एक जनाको मृत्यु

जनपत्र
२९ माघ २०८२, बुधबार १०:३०

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाडा स्थित निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्गमा टुचन मेसिन ब्रेकफेल हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मंगलबार साँझ द्रुतमार्गको १ नम्बर पुलको खाडल खन्ने काम सकेर खाल्डोबाट टुचन मेसिनमा बसेर माथि आउँदै गर्दा अचानक ब्रेक फेल भई मेसिन करिब २१ मिटर तल खसेको प्रहरीले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक राजन थापा नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोली साँझ   घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको जनाएको छ।

दुर्घटनामा सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका–५ घर भई सोही फास्ट ट्र्याक आयोजनामा कार्यरत २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त समयमा खाडलभित्रै रहेका पाँचपोखरी थाङपाल गाउँपालिका–६ का ३७ वर्षीय जुल्फे तामाङ माथिबाट खसेको टुचन मेसिनले ढाडमा लागेर घाइते भएका छन्। घाइते तामाङलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ। विस्तृत अनुसन्धानका लागि बुधबार बिहान प्रहरी निरीक्षकको कमाण्डमा थप टोली खटिने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*