सीप, सम्मान र आत्मनिर्भरतातर्फ सिआनको पहल
हेटौंडा। उपचाररत व्यक्तिहरूलाई सीप विकासमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सिआन पुर्नस्थापना केन्द्र, हेटौंडा–९, मकवानपुरको आयोजनामा सञ्चालन गरिएको १५ दिने कफी बनाउने तालिम आज औपचारिक रूपमा सम्पन्न भएको छ।
समापन कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशका मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यतामा सिआन भवनमा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री पौडेलले उपचारसँगै सीप विकास जोडिनुनै दिगो पुनःस्थापनाको आधार भएको उल्लेख गर्नुभयो। उहाँले सीपयुक्त जनशक्ति विकासमार्फत रोजगारी र आत्मनिर्भरता सम्भव हुने बताउँदै, सिआनले अघि सारेको यो मोडेल प्रदेश र देशकै लागि अनुकरणीय रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री एकालाल श्रेष्ठ, पूर्व डीआईजी तथा हुलास स्टिल इन्डस्ट्रिजका प्रशासन प्रमुख रवीन्द्र पण्डित, उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसाल, गैसस मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रतिनिधि राज नारायण, उद्योग तथा वाणिज्य कार्यालय शाखा प्रमुख लेखमान राउत, सिआनका पूर्व अध्यक्ष बिजेन्द्र अग्रवाल, सल्लाहकार सानु लामा लगायतका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
१५ दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा ५० जना उपचाररत तथा पुनःस्थापनाको चरणमा रहेका व्यक्तिहरू सहभागी भएका थिए। तालिममार्फत सहभागीहरूले कफी बनाउने व्यावहारिक सीप, बारिस्ता आचारसंहिता तथा ग्राहक सेवासम्बन्धी ज्ञान हासिल गर्दै आत्मविश्वास र भविष्यप्रतिको आशा विकास गरेको सिआनले जनाएको छ।
समापन कार्यक्रमकै अवसरमा सिआन पुनर्स्थापना केन्द्रले आफ्नो सचेतनामूलक डकुमेन्ट्री पनि सार्वजनिक गरेको छ। डकुमेन्ट्रीमा लागुऔषध दुर्व्यसन, मानसिक स्वास्थ्य समस्या, उपचार प्रक्रिया, पुनःस्थापना, सामाजिक पुनःएकीकरण र परिवारको भूमिकालाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ। यस डकुमेन्ट्रीले समाजमा रहेका गलत धारणा तोड्दै पुनःस्थापनाप्रति सकारात्मक सोच विकास गर्ने अपेक्षा गरिएको छ।








