मकवानपुरमा गुडिरहेको कार जलेर नष्ट
हेटौंडा — हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो वैकल्पिक मार्गमा गुडिरहेको भारतीय नम्बर प्लेट भएको कारमा गएराति आगलागी भएको छ ।
कार आगलागीका कारण क्षतिग्रस्त भएको छ । हेटौंडा–भीमफेदी–कुलेखानी, सिस्नेरी हुँदै दक्षिकाली सडक खण्डको ईन्द्रसरोवर गाउँपालिका–३ महादेव मन्दिर नजिकै आगलागी भएर कार जलेको हो ।
छोटो मार्ग भएर हेटौंडाबाट–काठमाडौंतर्फ गइरहेको बिआर ०१ एफ १६८३ नम्बरको कारमा एक्कासी आगलागी भएको थियो । कारमा चालकसहित यात्रुहरु थिए । कारमा आगलागी हुने बितिक्कै चालकसहित सकुशल बाहिर निस्केको सिस्नेरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामप्रसाद यादबले बताए ।
कारभित्रको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । प्रहरीले यात्रुहरुलाई अर्को सवारी साधनमा हालेर काठमाडौंतर्फ पठाएको जनाएको छ । सहायक निरीक्षक यादवका अनुसार कार पूर्ण जलेर नष्ट भएको छ ।







