बकैयाका वडाध्यक्ष दंगाल कागजात कीर्ते आरोपमा थुना पठाइए

जनपत्र
२२ कार्तिक २०८१, बिहीबार ०७:१८

हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष राजन दंगाल पुर्पक्षका लागि भीमफेदी कारागार चलान भएका छन् ।

जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले बुधबार सरकारी कागजात कीर्तेको अभियोगमा दंगाललाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश गरेको अदालतका अधिकृत दिलीप राईले जानकारी दिए । उनीविरुद्ध गत असार दोस्रो हप्ता अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

दंगाल चार महिनापछि आजै अदालतमा उपस्थिति भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता कीर्ते र जग्गा पास सम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोग छ।

जिल्ला प्रहरी कार्यालयमा गुरुङको श्रीमान् भारतीय मूलका एमसी परेराले विगत ६ महिना अगाडि वडाध्यक्ष दंगालसहित ७ जनाविरुद्ध जाहेरी दिएको मकवानपुर प्रहरीले जनाएको छ । गुरुङको नाममा उमादेवीको ललितपुर, कीर्तिपुर र चितवनमा रहेको करोडौं मूल्य पर्ने जग्गा हत्याउने प्रयास भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गुरुङको २६ भदौ २०७४ मा मृत्यु भएको थियो। उनका श्रीमान् परेरा चितवनको भरतपुरमा बस्दै आएका थिए । उनका दुई छोरी र एक छोरा अमेरिकामा छन् ।

प्रहरीले गत असारमा वडाध्यक्ष दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, नक्कली छोरा बनेका पूर्णबहादुर ब्लोनसहित सर्जमिन मुचुल्कामा साक्षी बसेका स्थानीय ४३ वर्षीय सानुमान थिङ, ३९ वर्षीय जितमान थिङ, ३५ वर्षीय जमानसिं भुलून, ६९ वर्षीय रामबहादुर न्यासुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले उनीहरुविरुद्ध लिखत सम्बन्धी कसुरमा अदालतमा मुद्दा दायर गरेको थियो।

बकैया–४ का ४६ वर्षीय ब्लोनलाई मृतक गुरुङको नक्कली छोरा बनाएर वडाध्यक्ष दंगालले १८ मंसिर ०८० मा मृत्युदर्ता र नाता प्रमाणित लगायतका कागजात तयार पारिदिएका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा वडा सचिव श्रेष्ठ, ब्लोन र न्यासुरलाई जिल्ला अदालतले २१ असारमा नै पुर्पक्षका लागि थुनामा पठाएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*