नेपाल र नेदरल्याण्ड्स आमने-सामने : नेपाललाई जित्नैपर्ने दबाब
आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा शनिबार नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ। जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो पौने १ बजे हुने खेलमा नेपाल जित्नैपर्ने दबाबका साथ मैदानमा उत्रिँदैछ।
आईसीसी विश्वकप छनोटमा नेपालले सुरूका तीन खेलमध्ये दुई खेलमा हार बेहोरेको छ। यसकारण पनि नेपालले यसअघिको यात्रा तय गर्न आज नेदरल्याण्ड्सलाई जित्नैपर्ने हुन्छ।
समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने वेष्टइण्डिज विरुद्धको तेस्रो खेल पनि गुमाएको थियो। दोस्रो खेलमा भने अमेरिकालाई पराजित गर्दै नेपालले दुई अंक जोड्दै सुपर सिक्स पुग्ने सम्भावना जीवितै राखेको थियो।
समूहमा वेस्ट इन्डिज र जिम्बावे लगातार दुई जित निकाल्दै सुपर सिक्स नजिक छन्। एक(एक खेलमा जित निकालेका नेदरल्यान्ड्स र नेपालमध्ये यो समूहबाट एउटा टिम सुपर सिक्समा पुग्नेछ। लगातार तीन खेलमा पराजित भएको अमेरिका भने समूह चरणबाटै बाहिरिसकेको छ।
नेदरल्याण्ड्सलाई पराजित गरेमा नेपालको सुपर सिक्समा जाने सम्भावना बाँकी हुनेछ। तर यसका लागि नेदरल्यान्ड्स र वेस्टइन्डिजको खेल निर्णायक हुनेछ। नेपाल अघिल्लो चरण जान नेदरल्याण्ड्स वेस्टइन्डिजसँग पराजित हुनुपर्नेछ ।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
नेपाल र नेदरल्यान्ड्स एकदिवसीय खेलमा पाँच वर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो। पहिलो खेलमा नेपाल ५५ रनले पराजित हुँदा दोस्रो खेलमा १ रनको जित हात पारेको थियो।







