आइन्स्टाइनकै देश र समयमा हिटलर किन जन्मिन्छ ?

जनपत्र
२८ जेष्ठ २०८०, आईतवार १०:१७

बीसौं शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई सम्झना गर्नुपर्ने कुनै खास दिन हैन आज । न शतवाषिर्की, न जन्म दिन र स्मृति दिवस । तर, अनायास चर्चा गर्न मन लाग्ने खालको यो न्यास्रो सृजना हुनुको कारण भने छ ।

न्यूयोर्क टाइम्स मा एक ‘गेस्ट एस्से’ प्रकाशित थियो, बेञ्जामिन कोहेनको । पढ्दै जाँदा थाहा पाएँ- उनी ‘फेक आइन्स्टाइन’ रहेछन् । नक्कली आइन्स्टाइन अर्थात् अल्बर्ट आइन्स्टाइनको नामबाट विभिन्न सामाजिक सञ्जालमा खोलिएका एकाउन्टहरू संचालन गर्ने व्यक्ति । त्यो पनि त्यस कामका लागि जेरुसेलमको हिब्रु विश्वविद्यालयले औपचारिक नियुक्ति र जिम्मेवारी दिएको मान्छे ।

अमेरिकाको भर्जिनियामा बस्दारहेछन् उनी । उनका अनुसार अल्बर्ट आइन्स्टाइनको नाममा खोलिएका विभिन्न एकाउन्टहरूका गरी करिब दुई करोड फलोअर्स छन् । तिनका लागि अल्बर्ट आइन्स्टाइन भएर ट्वीट र पोष्टहरू गर्नुपर्दछ उनले ।

६८ वर्षअघि सन् १९५५ मा बितेका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको नामबाट ट्वीट र पोष्टहरू गर्नुपर्दाका मनोदशालाई त्यसमा राम्रोसँग पढ्न सकिन्छ ।

आइन्स्टाइनलाई विज्ञान त्यसमा पनि भौतिकशास्त्रका विद्यार्थीले धेरै पढ्दा हुन् । मैले विज्ञान जति पढें, हाईस्कुलसम्म मात्र पढें । कलेज तहमा व्यवस्थापनको विद्यार्थी भइयो । वास्तविक जीवनमा राजनीतिबारे पढ्ने, लेख्ने, बोल्ने तथाकथित विश्लेषक । ‘राजनीतिक विश्लेषक’ संज्ञा दिनेहरूले अक्सर यही सोचेका हुँदा रहेछन् कि विद्यार्थी जीवनमा पनि मैले दर्शन र राजनीतिशास्त्र पढेको हँुला । उनीहरूको अनुमान बिल्कुलै नमिल्दा ती अक्सर छक्क पर्दछन् ।

यथार्थमा मसँग न दर्शन, राजनीतिशास्त्र, समाजशास्त्र, मानवशास्त्र, मनोविज्ञान जस्ता सामाजिक विज्ञानको कुनै औपचारिक अध्ययन छ न त विज्ञान र प्रविधि जस्ता शुद्ध विज्ञानकै । स्वध्ययनले त्यसका छेउकुना समात्ने मात्रै हो ।

आफूले पढेको व्यवस्थापनशास्त्रमा भने मलाई अहिले पनि गहिरो रुचि र लगाव छ । राजनीति गर्ने र राज्य चलाउने राजनीतिक तथा प्रशासनिक नेतृत्वले व्यवस्थापनको मर्मलाई नबुझ्दा, बुझेर पनि कम आँक्दा वा यथोचित व्यवस्थापन सीप र कला विकास नगर्दा यो देशमा धेरै चिज बिगि्रएका छन् भन्ने खुनखुन मनमा लागिरहन्छ ।

त्यस्ता धेरै काम भइरहेको देख्छु, जो गर्नेले नगर्दा हुन्थ्यो । नगर्नु झन् राम्रो हुन्थ्यो । देश, जनता र पार्टीलाई त हुने नै भयो, स्वयं त्यस्ता व्यक्तिकै व्यक्तित्व, ख्याति र करिअरका लागि समेत राम्रो हुन्थ्यो ।

ठीक उल्टो, त्यस्ता थुप्रै गर्नुपर्ने, गर्न सकिने काम पनि देख्छु, जो गर्नुपर्नेले नगरिदिंदा त्यसै खेर जान्छ । समय घर्किएर जान्छ । धेरैलाई हानि हुन्छ । यति जान्दाजान्दै पनि मान्छेले गर्नुपर्ने कामहरू किन नगरेको होला ? नगर्नुपर्ने कामहरू किन गरेको होला ? त्यसबापत उसले प्राप्त गर्ने के होला ? अहंको तुष्टि बाहेक त अरू कुनै उपलब्धि देखिंदैन ।

तर, मान्छेको जात न हो । मान्छेका स्वार्थ, रुचि, प्रेरणा र मनोदशाका अनेक आयाम छन् । ती कुनै शास्त्र अनुरूप चल्ने हुन् र Û हरेक मान्छे आफ्नो साम्राज्यको राजा वा महारानी आफैं हो । आफ्नो कथा वा सिनेमाको हिरो वा हिरोइन आफैं हो । त्यही लोभ वा गौरवमा बाँचेको छ मान्छे । किन यस्तो हुन्छ ?

विशुद्ध विज्ञान (पियोर साइन्स) मा यसको कुनै उत्तर हुन्छ कि हुँदैन थाहा भएन । सामान्यतः विज्ञानका सिद्धान्तहरू म सजिलै बुझि्दनँ । आधुनिक विज्ञानका सिद्धान्त बुझ्न न्यूटनका गति सम्बन्धी तीन नियम जति सजिलो पनि छैन ।

आइन्स्टाइन वा स्टेफन हकिन्स, म्याक्स प्लांक वा निल्स बोहरका सिद्धान्त बुझ्नु फलामको चिउरा चपाउनु जत्तिकै गाह्रो कुरा हो मेरो लागि ।

तर, व्यवस्थापनशास्त्रमा हरेक मानवीय तथा संस्थागत कर्म वा प्रक्रियाको उत्तर हुन्छ । मानवीय तथा संस्थागत जटिलता र समस्याको समाधान हुन्छ । कुनै खास जिम्मेवारी र संस्थामा रहेका व्यक्तिले के गर्नु हुन्छ, के गर्नुहुँदैन भन्नेे प्रष्ट ‘डिमार्केसन’ हुन्छ । कम्तीमा सबैले यति नियमको मात्र पालना गरिदिने, गर्नुपर्ने गर्ने, गर्न नहुने नगरिदिने मात्र हो भने पनि कुनै राष्ट्र र समाजको उन्नति धेरै टाढाको कुरा रहँदैन ।

कोहेन भन्छन् कि सूचनाको संग्रह वा सञ्चितिबाट विशेषज्ञता सान्दर्भिक वा प्रमाणित हुने युग अब रहेन । यो काम त इन्टरनेट र गुगलले सजिलै गरिदिन्छ । खासमा आइन्स्टाइनहरूको महत्व सूचनाको कारणले थिएन पनि । त्यसभन्दा पर ज्ञानको खोजी, सत्यको अनावरण वा सत्यनिष्ठा भन्ने भिन्नै भाव पनि हुन्छ । आइन्स्टाइनहरूको सान्दर्भिकता खासमा यो कारणले थियो । उनीहरूले ब्रहृमाण्डका नियम वा सृष्टिका रहस्यहरू मानव जातिको हित र उन्नतिका लागि खोज्ने र पत्ता लगाउने प्रयत्न गरेका थिए ।

यो काम इन्टरनेट, गुगल, एआई वा सामाजिक सञ्जालले गर्ला भनेर पत्याउन सकिने आधार अहिलेसम्म पनि तयार भएको छैन ।

सामाजिक सञ्जालको सबलता के हो भने मान्छे संगठित र प्रायोजित मिडियाको प्रभावबाट एकहदसम्म मुक्त भएको छ । यसको दुर्बलता के हो भने यसले गलत र भ्रामक धारणाको बढी नै चलाइदिएको छ । एकातिर यो दाबी गरिन्छ कि मानिस चेतनशील वा विवेकशील प्राणी हो । अर्कोतिर यो देखिन्छ कि मान्छेले इतिहासका विभिन्न कालखण्ड र आज पनि अनेक प्रकारका झुट, अन्धविश्वास, भ्रान्त धारणा, पूर्वाग्रहलाई सत्य ठान्दै र मान्दै आएको छ ।

सत्य के हो त ? मान्छे विवेकशील वा चेतनशील प्राणी हो भन्ने दाबी सत्य हो कि मान्छे आफ्नो मर्जीले झुटलाई पनि सत्य ठानेर भ्रम र अन्योलमै गौरव गर्न र बाँच्न सक्ने प्राणी हो भन्ने सत्य हो ?

आइन्स्टाइनको सापेक्षता सिद्धान्त खासमा सत्यको सापेक्षतासँग नभएर समय र परिस्थिति, देश र काल अर्थात् टाइम र स्पेशसँग सम्बन्धित थियो जस्तो लाग्दछ ।

यहाँ उठाउन खोजिएको प्रश्न भने ‘टाइम एण्ड स्पेश रिलेटिभिटी’ हैन, ‘माइन्ड एण्ड ट्रूथ रिलेटिभिटी’ हो । मान्छे कस्तो प्राणी हो र उसको दिमागमा कस्तो बेला कस्ता धारणा आउँछन्, कस्ता धारणा मान्छेले पत्याउँछ वा इन्कार गर्दछ भन्ने कुराको पूर्ण उत्तर कसैले दिन सक्दैन ।

मान्छेको दिमागबारे आजसम्म जति पनि खोज भएका छन्, ती सबै अधूरा र अपूरा छन् । अर्थात् यसो पनि हुन सक्दछ कि मानवीय मस्तिष्कका संभाव्य प्रवर्गहरू असीमित वा अनन्त छन् । तसर्थ, मान्छेले मान्छेलाई जति बुझ्न खोज्दछ, जति बुझे पनि बुझाइ अपूर्ण नै रहन्छ ।

मान्छे झन् झन् नबुझिने र रहस्यमय हुन्छ । शुद्ध विज्ञानमा यस्ता प्रकल्पनको कमै स्थान हुन्छ, जो समाज विज्ञान वा अझ बढी मनोविज्ञानमा हुन्छ ।

विज्ञान जगतमा एउटा मिथ छ । चर्चित भनाइ छ, आइन्स्टाइनले कुनै बेला भनेका थिए- भगवानले यो ब्रहृमाण्डसँग जुवा खेल्दैन । सम्भवतः क्वान्टम फिजिक्सका अध्येता वार्नर हाइजेनाबर र निल्स बोहरसँगको संवादको क्रमका यो भनिएको थियो । यसको अर्थ सायद, क्वान्टा वा पार्टिकल्सको ऊर्जाको मात्रा र गतिको दर र आवृत्तिका कारणले परिणाममा आउने संभावित भिन्नताको बोध थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*