जब राष्ट्रपति बाइडेन एयर फोर्स एकेडेमीको कार्यक्रममा लडे
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो सिटतर्फ जाँदै थिए उनी भुइँमा पछारिए ।
वायुसेनाका अधिकारीहरूको सहयोगमा उनी उठे । भिडियोमा उनलाई उठ्न अलि अप्ठ्यारो परेको देख्न सकिन्छ ।
ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट नलागेको स्पष्ट पारेका छन् । बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर उनी लडेको बताइएको छ ।
बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् । ८० वर्षीय डेमोक्र्याट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए ।







