नेपालतिर सर्यो न्यून चापीय रेखा, पुनः सक्रिय हुँदै मनसुनी गतिविधि
मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केही उत्तर तर्फ अर्थात नेपाल नजिक सरेकाले मनसुनी गतिविधि केही सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेसँगै केही दिनदेखि कमजोर अवस्थामा रहेको मनसुन पुनः सक्रिय हुने क्रममा रहेको मौसमविदले बताएका छन् ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । तराईका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसमविदले बताएका छन् । यस्तै चट्याङ्ग पनि परिरहेको छ । सोमबार दिनभर देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । पूर्व र पश्चिमका तराई क्षेत्रका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशभर सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्य वर्षा तथा चट्याङ्ग पर्ने सम्भावना रहेको छ । राति मध्य र पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।







