धौलागिरि हिमालको कीर्तिमानी आरोहण गर्दै स्पेनका ८४ बर्षिया कार्लोस

जनपत्र
११ बैशाख २०८०, सोमबार ०७:५८

उमेरले ८४ वर्ष पुगेका स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमालमा कीर्तिमानी आरोहणको तयारीमा छन्।

म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्न कार्लोसको आरोहण दलको समूह १० दिनदेखि आधार शिविरमा छ ।

धौलागिरिको कीर्तिमानी आरोहणका लागि कार्लोसको यो ११औँ पटकको प्रयास हो । वृद्ध उमेरमा समेत धौलागिरि हिमालको चुचुरोमा पुग्ने धोको पूरा नभए पनि कार्लोस अथक प्रयासमा जुटेका छन् ।

कार्लोसको धौलागिरि आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको छ । आरोहण व्यवस्थापनको तर्फबाट मिङतेम्बा शेर्पाले कार्लोसको धौलागिरि आरोहण दलको नेतृत्व गरेका छन् ।

तीन स्पेनी आरोही र सेभेन समिटका आरोहण व्यवस्थापकसमेत गरी २५ जनाको टोली अहिले आधार शिविर क्षेत्रमै अनुकूल मौसमको पर्खाइमा रहेको सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए ।

“टोली आधार शिविर पुगेको १० दिन भयो, तर अहिलेसम्म आरोहण सुरु गर्ने अनुकूल मौसम नै भएको छैन, धौलागिरि आसपासमा निरन्तर हिमपात भइरहेको छ, मौसममा सुधार हुनेबित्तिकै कार्लोसको कीर्तिमानी आरोहणको यात्रा सुरु हुन्छ” उनले भने ।

गत वर्षसमेत आरोहणका लागि धौलागिरिको पहिलो क्याम्पसम्म पुगेर प्रतिकूल मौसमका कारण आरोहण स्थगित गरेर फर्किएका कार्लोसले यस पटक आफ्नो कीर्तिमानी आरोहणलाई पूरा गर्ने सङ्कल्प गरेका छन् ।

६० वर्ष उमेर पुगेपछि आठ हजार मिटर भन्दाअग्ला १० हिमाल आरोहण गर्ने एक मात्र आरोही बनिसकेका कार्लोसले धौलागिरि आरोहण गरेमा सबैभन्दा ज्येष्ठ उमेरमा विश्वका १४ हिमाल आरोहणको कीर्तिमानी बनाउनेछन् ।

एक महिनाअघि स्पेनदेखि नेपाल आएका कार्लोसले दुई हप्ता बढी समय खुम्बु क्षेत्रमा पूर्वाभ्यास स्वरूप ट्रेकिङ गर्दै बिताएका थिए ।

धौलागिरि आरोहणको पूर्वतयारीस्वरूप सगरमाथा, ल्होत्से र आमाडब्लम लगायतका हिमालको फेद रहेको खुम्बु उपत्यकामा १७ दिन बिताएपछि काठमाडौँ फर्किएको कोर्लोसको टोली यतिबेला धौलागिरि आधार शिविरमा छ ।

धौलागिरि हिमालको आधार शिविरतर्फ प्रस्थान गर्नुअघि सामाजिक सञ्जाल फेसबुकबाट कार्लोसले खुम्बु क्षेत्रको हिमाली चुचुराहरूमा गरेको आरोहण अभ्यासले यस पटक धौलागिरिको आरोहण सफल हुने विश्वास व्यक्त गरेका छन् ।

कार्लोसले सन् १९९८ मा पहिलो प्रयास धौलागिरिको आरोहण गर्ने प्रयास गरेका थिए । सबैभन्दा वृद्ध उमेरमा १४ वटा हिमाल आरोहणको कीर्तिमान राख्न कार्लोसले धौलागिरि र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।

कार्लोसले ६२ वर्षको उमेरमा सगरमाथा, ७५ वर्षको उमेरमा कञ्चनजङ्घा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरका थिए ।

कार्लोसको धौलागिरि हिमाल आरोहणको मोहले धौलागिरि हिमालको महत्त्वलाई बढाएको भन्दै उहाँको आरोहण सफल भएमा यसले धौलागिरि हिमाललाई थप प्रचारप्रसार गर्न सघाउने र यस क्षेत्रको पर्यटकीय सम्भावना उजागरमा टेवापुग्ने धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*